गठबन्धन मिलाउन मोरङ काँग्रेसलाई सकस

काँग्रेस कार्यकर्ताद्वारा गठबन्धन दलको बैठकस्थल घेराउ

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच राजनीतिक दलबीचमा गठबन्धन गर्ने केन्द्रीय सहमति भएपनि जिल्लामा भने अन्यौल देखिएको छ । गठबन्धन गर्ने की नगर्ने भन्ने निर्णयमा पुग्न नसकेकै कारण नेपाली काँग्रेस मोरङले पटक–पटक गठबन्धन दलको बैठक सार्दै र टार्दै आएको थियो । तर, केन्द्रमा सहमति बनेपछि भने गठबन्धन नगर्ने निर्णय गरेका सुनवर्षी नगरपालिका र विराटनगर महानगरपालिकाको विषय केन्द्रले मिलाउने आशा गर्दै गठबन्धनमा लचिलो बनेको मोरङ काँग्रेस गठबन्धनको विषयले चर्को दबावमा परेको छ ।

गठबन्धन मिलाउन उपसभापति भक्ति माझीको संयोजकत्वमा समितिमा बनाएर अध्ययन गरेको र सोही समितिको प्रतिवेदनका आधारमा गठबन्धनमा अघि बढ्ने तयारी काँग्रेसको छ । वडा तहसम्म गठबन्धन बन्ने सम्भावना बढेर गएपछि शुक्रबार विराटनगर महानगरपालिका ६ का काँग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा घेराउ गरे । भित्र गठबन्धन दलको बैठक चलिरहेको बेला कार्यकर्ताहरुले पार्टी सभापति डिगबहादुर लिम्बूको कार्यकक्ष घेराउ गर्दै गठबन्धन चाहिँदैन भन्दै नाराबाजी गरे । कार्यकर्ताहरुको नाराबाजी र विरोधले काँग्रेस नेताहरु दबावमा परेका छन् ।

स्थानीय तहको २०७४ सालको चुनावमा विराटनगर ६ मा नेकपा माओवादी केन्द्रले जितेको थियो । सो वार्डमा पनि एक्लै चुनावमा जानुपर्ने भन्दै काँग्रेस कार्यकर्ताहरुले दबाब सिर्जना गरिरहेका छन् ।

मोरङमा संस्थापनइतरका नेता डा. शेखर कोइराला समूहको वर्चस्व छ । गत चुनावमा एक्लै मेयर, उपमेयर जितेको पालिकामा अरुलाई नेतृत्व दिन नसकिने सभापति लिम्बुले बताए । मोरङका १७ स्थानीय तहमध्ये गत चुनावमा एक्लै लड्दा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका पनि जितेको थियो । बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेस नेतृत्व छ । काँग्रेसले जितेको १० पालिकामा दाबी नगर्न उसले गठबन्धन दलका सहयात्रीहरुलाई आग्रह गरिरहेको छ । सभापति लिम्बुले भने ‘हामीले हिजो जितेको ठाउँमा दाबी नगरिदिनुहोस् बाँकी ठाउँमा गठबन्धन बनाएर लडौं भनेर हामीले आाग्रह गरिरहेका छौं ।’ सभापति लिम्बूले हिजो हारेका अन्य पालिकामा पनि हाम्रो संगठन सुदृढ बनेकोको दाबी गरेका छन् ।

उता नेकपा माओवादी केन्द्रभने गठबन्धन गर्न काँग्रेस तयार नभए बाँकी दलहरुबीच गठबन्धन बनाएर जाने बताइरहेको छ । यसले गर्दा काँग्रेसपनि दबाबमा परेको छ । माओवादी, जसपा र एकीकृत समाजवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएको खण्डमा विराटनगर लगायत दक्षिणी तर्फका पालिकाहरु गुम्नसक्ने चिन्ता काँग्रेसलाई छ ।

कांग्रेसभित्र मतभेद कायमै

गठबन्धन गर्ने विषयमा काग्रेसभित्र देखिएको विवाद निरुपण भइसकेको छैन । उम्मेदवारी पाउने सम्भावना भएकाहरु गठबन्धन गर्नुपर्छ भनिरहेका छन् भने र गठबन्धन बनाउँदा उम्मेदवारी गुम्ने खतरा देखेकाहरु विरोधमा उभिएका छन् ।

आफुले पद पाँउदा गठबन्धन ठिक र नपाउँदा गलत भन्ने मान्यता राख्न नहुने मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राईको भनाइ छ । केन्द्रले गठबन्धन गर्ने निर्णय गरीसकेकाले त्यसलाई कार्यान्वयन गरेर जानुपर्नु उनको मत छ ।

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितकुमार कार्की पनि गठबन्धन गर्न नहुने बताउँछन् । ‘हामी पहिलेभन्दा धेरै मत ल्याउँछौं,’ कार्कीले भने, ‘हामीलाई गठबन्धन गर्ने पार्टीहरूले भोट हाल्छन् भन्ने पनि विश्वास छैन ।’ स्थानीय कार्यकर्ताले पनि गठबन्धन नगर्न सुझाव दिइरहेका उनको भनाइ छ ।

शुक्रबार, ०२ बैशाख, २०७९, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर