‘सिफारिसमा नपरेका व्यक्ति पनि उम्मेदवार हुनसक्छन्’– पूर्वमन्त्री कार्की

विराटनगर । नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका तल्ला कमिटीहरुबाट सिफारिस भएका नाम बाहेकका व्यक्ति पनि उम्मेदवार हुनसक्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै मन्त्री कार्कीले ‘मुलभूतरुपमा तल्ला कमिटीकै सिफारिसका आधारमा उम्मेदवारी टुंगिन्छ, तर सिफारिस बाहेक पनि उम्मेदवारी आउने सम्भावना छ ।’ त्यतिमात्र होइन उम्मेदवारी सिफारिस गर्ने क्रममै मतदान भएका ठाउँमासमेत प्रतिष्पर्धिहरुको मतको फरक र जित्ने सम्भावना आंकलन गरेर उम्मेदवारको अन्तिम टुंगो लगाइने उनले बताए । ‘उम्मेदवार बन्नका लागि चुनाव जितेकै आधारमा उम्मेदवारी टुंगिने भन्ने होइन तर जित्नेहरु नै उम्मेदवारी बन्ने सम्भावना चाँही बढी हुन्छ,’ उनले भने । एक फरक प्रसंगमा उनले विराटनगर महानगरको प्रमुखको उम्मेदवारीपनि सिफारिस भन्दा बाहिरबाट हुनसक्ने संकेत गरे ।

आउँदो निर्वाचनमा प्रदेश १ का १३७ पालिकामध्ये बहुमत पालिकामा एमाले बिजयी बन्ने नेता कार्कीले दाबी गरे । ‘ठ्याक्कै कति पालिका जित्छौं भनेर त म भन्न सक्दिन तर देशभरमा हामी पहिलो हुन्छौं र प्रदेश १ का बहुमत पालिका हामीले जित्छौं ।’ २०७४ को संघीय चुनावमा गठबन्धनको बदर भएको १० लाख मतमध्ये एमालेको ६ लाख भएको र अहिले ३६ लाख मतदाता थपिएका कारण चुनावमा आफ्नो दल पहिलो हुने दलित उनले पेश गरे । एमाले नेतृत्वको सरकारले १० वर्षमा नभएको भौतिक पूर्वाधारको विकास गरेको कारणले पनि एमालेले चुनाव जित्ने दाबी गर्दै उनले भने ‘एमाले बलियो भएकै कारणले सत्तामा भएका दलहरु प्रतिपक्ष विरुद्ध गठबन्धन बनाएर चुनाव लड्दैछन् ।’

एमालेले उम्मेदवार छान्ने प्रकृयामा सुरु गरिसकेको भन्दै उनले वैशाख ७ देखि ९ गतेभित्र उम्मेदवार छनौट भइसक्ने बताए । चुनावमा एक्लै गठबन्धनलाई चुनौती दिने तयारी भएपनि सूर्य चिन्हमा लड्न तयार भएपछि राजतन्त्र छोडेको राप्रपासँग तालमेल गरेको उनले बताए ।

आउँदा केही चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग तालमेल हुने सम्भावना नरहेको नेता कार्की बताउँछन् । ‘एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले जुन चिसोपना छ यसले गर्दा कमसेकम आउँदो संघीय संसदको चुनावसम्म तालमेल हुने सम्भावना कुनै सम्भावना छैन,’ उनले भने ‘तर स्थानीय कमिटीहरुलाई कडा निर्देशन भएन भने धेरै ठाउँमा माओवादी र एमालेबीच तालमेल हुने सम्भावना चाँही छ र त्यस अनुरुप छलफल चलिरहेको जानकारी हामीले पाएका छौं ।’

पूर्व मन्त्री कार्कीले वर्तमान प्रदेश सरकार असफल भएको जिकिर गर्दै संघीयताप्रतिको नकारात्मक धारणा कम गर्ने गरी सरकारले काम नगर्दा यसप्रति नागरिकहरुले अझबढी नकारात्मक टिप्पणी गर्न थालेको उनको आरोप थियो । उनले भने ‘राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले संघीयता विरुद्धको भावना कम गर्नुको साटो झन् बढाएको छ । सरकारले नियुक्तिहरुमा मात्र ध्यान दिएको देखिन्छ र त्यसैले यो सरकारले राम्रा काम गर्न नसकेको मात्र होइन नराम्रो कामको उपमा नै बन्ने देख्छु ।’

प्रदेश १ मा दुई तिहाईको सरकारको नेतृत्व गरेको भएपनि दलभित्रको आन्तरिक कारणले प्रदेशको नामकरणा गर्न नसकेको उनले स्वीकार गरे । ‘नाम र राजधानी एकैपटक टुंग्याउनु राम्रो हुन्छ भनेर राजधानी टुंग्याएर नामलाई पछि सा¥यौं,’ उनले भने ‘अहिले नामकरणको विषयमा मुख्यमन्त्रीले केही पहल गर्नुभएको छ खासगरी यो प्रदेशसभाको विषय भएकोले हामी ठूलो दल हुनुको नाताले यस विषयमा सक्रिय छलफल गर्छौं र मंसिरभित्र नामकरणा टुंग्याउन सकारात्मक भूमिका खेल्छौं ।’ उनले चुनाव लगतै नामकरणको विषयमा छलफल चलाउने र अहिले कांग्रेससँग आफूहरु छलफलमै रहेको जानकारी पनि दिए ।

शुक्रबार, ०२ बैशाख, २०७९, दिउँसोको ०२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर