विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विराटनगरमा ‘शक्ति प्रदर्शन’ गरेको छ ।
यसअघि साना तिना र थोरै कार्यकर्ता जम्मा पार्ने राप्रपाले आजको कार्यक्रममा भने उल्लेख्य मानिसको सहभागी गराएको थियो ।
विराटनगरको महेन्द्र चोकमा विशाल आमसभाको नाममा गरिएको कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, नायीका तथा नेतृ रेखा थापालगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमका क्रममा उनीहरुले देशका ठूला पार्टी कांग्रेस, एमाले तथा माओवादीको धुरन्धर विरोध गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको फोटो अंकित भेष्ट लगाएका युवाहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेको देखिन्थ्यो ।
कार्यक्रममा लगभग १ हजार मानिस सहभागी भएको अनुमान छ । राप्रपाले भने ३ हजारबढी मानिसको सहभागीता रहेको जनाएको छ । ‘कार्यक्रममा ३ हजार बढी मानिस सहभागी थिए,’ राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले भने ।
नेताहरूले राजनीतिलाई ‘सात पुस्ता सपार्ने व्यवसाय’ बनाए : लिङ्देन
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरूले राजनीतिलाई ‘सात पुस्ता सपार्ने व्यवसाय’ बनाएको आरोप लगाएका छन् । ‘राजनीति गर्नेहरुले ओड्ने ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, सात पुस्ता सपार्ने व्यवसाय पनि बनाए,’ लिङ्देनले भने ।
त्यसको असर अहिले जनताले भोगिरहेको भन्दै उनले लोभीपापीका कारण राजनीति दुर्गन्धीत भएको दाबी गरे । कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, नायीका रेखाथापा लगायतले सम्बोधन गरेका थिए । उनीहरुले आगामि निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा अगाडि आउने दाबी गरे ।