विराटनगर । स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने गाडी फिर्ता गर्न थालेका छन् । चुनावको बेलामा गाडीको दुरुपयोग बढ्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन ।
मोरङको लेटाङ नगरपालिकाका मेयर शङ्कर राई, मोरङकै उर्लाबारीका मेयर खड्ग प्रसाद फागो, तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन लगायतका नेताहरूले सरकारी गाडी फिर्ता गरेका हुन ।
सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको र आफू पार्टीको काममा खटिनुपर्ने भएकाले निर्वाचनमा सरकारी सवारीसाधनको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले बताए । मेयर राई नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन । ‘नगरका कामभन्दा बढी अब चुनावी अभियानमा खट्नुपर्छ,’ उनले भने, ‘ पाटीको काममा जाँदा सरकारी गाडीको लिएर जान नैतिकताले दिएन ।’ अब चुनावभर भाडाको गाडी प्रयोग गर्ने उनले बताए ।
यस्तै लेटाङ–४ का वडाध्यक्ष सन्तोष कार्की र ८ का भीमप्रसाद पोखरेलले पनि आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।
कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेको भन्दै उर्लाबारीका मेयर फागोले गाडी फिर्ता गरेका छन् ।
गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसे पनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमाले बाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारी सहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरू नमानेकाले योजनाको काम रोकिएको मेयर फागोको आरोप रहेको छ ।
चुनावको समयमा सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको म्याङ्लुङ नगरपालिकाका मेयर तुम्बाहाम्फेले बताए ।