इटहरी । सुनसरीको इटहरीमा सोमबार राति बम बिस्फोट हुँदा दुईजना घाइते भएका छन् ।
इटहरीमा राति साढे १० बजे भएको बम बिस्फोटमा परि इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।
आँखामा चोट लागेर घाइते भएका थापाको बिराटनरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । गुरुङको हात र तिघ्रामा चोट रहेको छ । सुतली बम बिस्फोट हुँदा दुवैजना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको प्रहरीले जनाएको छ । बिस्फोटका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अमित श्रेष्ठको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट घाइते हुनेहरु दुबै जना सोही घरमा डेरा गरी बस्ने गर्दथे ।
प्रहरीले थापा र गुरुङ नै हिमाल सुरक्षा परिषद्को कार्यकर्ता रहेको हुनसक्ने आशंका गर्दै दुबैलाई निगरानीमा राखेर उपचार गराइरहेको छ । परिषद्ले यसअघि झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गरेको थियो । त्यसबेला प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।