विराटनगर । विराटनगरको ऐतिहासिक विवरणहरुलाई जीवन्त राख्ने उद्देश्यले विराटनगर महानगरपालिकाले ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक प्रकाशन गरेको छ । सहर स्थापना भएको १०० वर्ष पूरा गरिसकेको विराटनगरले इतिकासको एकीकृत गाथाको अभाव महसुस गरिरहेको बेला यस अवधिमा भएगरेका घटनाक्रमहरुको संगालोको रुपमा प्रकाशन गरिएको पुस्तक सोमबार एक समारोहका बीच बिमोचन गरिएको छ ।
विराटनगर सहरको स्थापना, त्यसपछि विराटनगरको पहिलो राजनीतिक नेतृत्व गर्ने व्यक्तिको खोज र परिचयदेखि सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य, बैकिङ आदि विविध क्षेत्रको ऐतिहासिक पक्षलाई पुस्तकमा समेट्ने प्रयत्न गरिएको छ । पुस्तकले विराटनगरको ऐतिहासिक विकास क्रम र त्यसमा योगदान गर्ने व्यक्तिहरुको बारेमा पनि संक्षिप्त जानकारी दिने प्रयत्न गरेको छ ।
साहित्यकार तथा समालोचक दधिराज सुवेदीले अन्वेषण गरी लेखेका पुस्तक प्राध्यापक डा. गोपाल भण्डारी, महानगरका प्रमुख भीम पराजुली लगायत विशिष्ठ अतिथिहरुले सामुहिकरुपमा विमोचन गरे । महानगरले ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक पहिलो संस्करणमा एक हजारप्रति प्रकाशन गरेको छ । पुस्तक ४०९ पृष्ठको रहेको छ ।
यसैगरी भाषाशास्त्री स्वर्गीय प्राज्ञ बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पनि सोमबार बिमोचन गरिएको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्दै आएका १६९ जना विशिष्ठ साहित्य क्षेत्रका व्यक्तित्वहरुले भाषाशास्त्री पोखरेलको स्मृतिमा लेख्नुभएको स्मरणहरु समावेश गरिएको स्मृतिग्रन्थ पनि विराटनगर महानगरपालिकाले नै प्रकाशन गरेको हो ।
झर्रोवादी आन्दोलनको जन्मदाताको रुपमा परिचित भाषाशास्त्री पोखरेलको स्मरणमा प्रकाशित ग्रन्थमा साहित्यकार सत्यमोहन जोशी, डा. तारानाथ शर्मा, शरच्चन्द्र वस्ती, मोदनाथ प्रश्रित, कृष्ण प्रसाद पराजुली लगायत भाषा साहित्य क्षेत्रका सर्जकहरुले उहाँको जीवनी, भाषा तथा व्याकरण, समालोचना, संस्मरण, विचार विश्लेषण, अन्तरसंवाद, पारिवारिक स्मरण र शब्द श्रद्धाञ्जली लगायतका विषय समावेश छ । कुल ८१२ पृष्ठको पुस्तक महानगरपालिकाले पहिलो संस्करणमा एक हजार प्रति छापेको जनाएको छ ।
विराटनगर महानगरपालिकाले नगरको ऐतिहासिकता संरक्षण गर्ने र श्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरेकोमा प्रमुख अतिथि प्राध्यापक डा. गोपाल भण्डारीले खुसी व्यक्त गरे । उनले पुस्तक संग्रहणीय भएको पनि बताए ।

