विराटनगर । मोरङको लेटाङमा भएको महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या २० पुगेको छ । मोरङ प्रहरीले यस घटनामा एक जना महिलासहित २० जनलाई पक्राउ गरेको छ ।

पहिलो चरणमा ९ जना र पछि थप ११ जना गरि प्रहरीले मोरङ जिल्ला अदालतमा २० जनाविरुद्ध ‘कर्तब्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।
चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, लेटाङ ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् । यस्तै मिक्लाजुङ्ग गाउँपालिका २ घर भइ लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का सञ्जीव प्रधान, प्रनिश कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, शनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

महिला प्रहरीको ज्यान जानेगरि भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ । ‘हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरू भएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै पक्राउ गरिने र सोधपुछ हुने क्रममा जारी नै रहेको छ ।’

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरि घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । ‘घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जंगलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ्ग, केराबारी र मिक्लाजुङ्गसँगै उत्तरी क्षेत्र सर्च अभियान पनि जारी राखेको छ,’ घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकृतले भने, ‘अहिले आरोपी भाग्न नपाओस् भनेर जंगलसहित जिल्ला नाकासहित चारै तिर प्रहरी परिचालन गरिएको छ ।’

घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङसहितका प्रहरीका अधिकारीहरूले अनुसन्धान गर्दै आएको छन् । घटनाको अनुसन्धानको लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा गठन गरेको ५ सदस्यीय टोलीले पनि काम गरिरहेको छ ।