लोड हुँदैछ...

मेनु

पल शाह पुर्पक्षका लागि जेल चलान

पल शाह पुर्पक्षका लागि जेल चलान

विराटनगर । नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका नायक पल शाहलाई कारागार चलान भएका छन् । शाहलाई जिल्ला अदालत तनहुँले बिहीबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका अधिकृत हरिशचन्द्र गौतमले जानकारी दिए। बलात्कार मतियारका अभियोग लागेका शाहको म्यानेजर कृष्ण जोशी भने१ लाख धरौटीमा रिहा भएका छन् ।

शाहको मुद्दामा जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो। पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बुधबार बहस गरेका थिए।

पलका पक्षबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ बर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा हाजिर भएका थिए ।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। तनहुँ अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि अब नवलपुर अदालतमा थुनछेक बहस सुरू हुनेछ ।

पलविरुद्धको जबर्जस्ती करणी मुद्दामा केही समयअघि सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको थियो । पीडितको स्वास्थ्य परीक्षणले पनि उनको संवेदनशील अंगमा चोट रहेको देखाएको थियो ।

पल शाहले तनहुँ र नवलपुरमा प्रहरीसमक्ष दिएको बयानमा दुईबीच विवाद बढेपछि ‘उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति’ भएको स्वीकारेका छन् । तर, जबरजस्ती करणी चाहिं अस्वीकार गरेका थिए ।

पलले तनहुँमा घटना भएको भनिएका बेला पीडितलाई ‘बियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको’ जिकिर गरेका थिए। नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी गरेको वयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।