लोड हुँदैछ...

मेनु

कम्पनीको आधारभुत पक्ष बुझेर मात्र लगानी गर्न सुझाव

कम्पनीको आधारभुत पक्ष बुझेर मात्र लगानी गर्न सुझाव

विराटनगर । शेयर बजारमा बाहिरी हल्लाको आधारमा भन्दा पनि कम्पनीको विषयमा पुरा अध्ययन गरेपछि मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

विराटनगरमा बुधबार आयोजित धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा यस क्षेत्रका जानकारहरुले लगानीका प्रक्रिया, लगानी गर्ने कम्पनी र त्यसको सबै विषयमा जानकारी लिनुपर्ने सुझाब दिएका हुन् ।

नेपाल धितोपत्र बोर्ड, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल र स्टक ब्रोकर एसोसिएसन नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको सचेतना कार्यक्रममा सो सुझाब दिइएको हो । कार्यक्रममा धितोपत्र बजारका आधारभुत पक्षदेखि सिडिएसले गर्ने काम, क्रेडिट रेटिङको प्रक्रिया विधि र मर्चेन्ट बैंकिङको विषयमा आधारभुत जानकारी गराइएको थियो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक दिपेश ताम्राकारले धितोपत्र बजारका आधारभुत पक्षको सम्बन्धमा जानकारी दिएका थिए । बोर्डले काम गर्ने विधि तथा प्राथमिक र दोस्रो बजारको विषयमा उनले प्रष्ट पारेका थिए ।

शेयर बजारमा के–केमा कसरी लगानी गर्ने भन्नेमा लगानीकर्ता आफै स्पष्ट हुनुपर्ने बताउँदै ताम्राकारले लगानीकर्ताहरुले हल्लाको पछि लाग्न नहुनेमा जोड दिए । कम्पनीको आधारभुत पक्षको विषयमा अध्ययन नगरी नयाँ लगानीकर्ता अगाडि बढेमा फस्ने खतरा रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सुरेश जोशीले एक्सचेन्जको स्थापना र यसले गर्ने कामको विषयमा जानकारी गराएका थिए । क्रेडिट रेटिङ सम्बन्धी जानकारी दिँदै इक्रा नेपालका उज्वल श्रेष्ठले कम्पनीको सबै पक्ष हेरर त्यसको तत्कालिन अवस्थाको विषयमा इक्राले तथ्यांक सार्वजनिक गर्ने गरेको बताए ।

नेपालका सिडिएस एन्ड क्लियरिङ लिमिटेडका पराग विष्टले सिडिएसले कसरी काम गर्छ भन्ने जानकारी गराएका थिए । उनले आईपिओ जारी हुने प्रक्रियादेखि लगानीकर्ताको खातामा शेयर आउने विधिको विषयमा सहभागीले उठाएका जिज्ञासाबारे स्पष्ट गराए ।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष तथा क्रिस्टल कंचनजंघा सेक्युरिटिजका सिईओ प्रियराज रेग्मीले शेयर बजारमा सर्वसाधारणको पहुँच र आकर्षण बढेको बताउँदै लगानीकर्ताहरु सचेत हुनुपर्ने बताए । कार्यक्रमका सहभागी लगानीकर्ता तथा सर्वसाधारणले कोरोना महामारीपछि प्रदेश नम्बर १ मा डिस्प्ले रोकिँदा समस्या भएको गुनासो गरेका थिए ।

नेप्सेका अधिकारीले नयाँ वेभसाइट आएसँगै विस्तारै समस्या हल हुँदै गएको लगानीकर्तालाई जानकारी गराए । नयाँबाट राम्रो चल्दै जाने र ट्रेडिङ सम्बन्धी वेभसाइटको समस्या पनि समाधान हुने उनीहरुको भनाइ थियो । कार्यक्रममा लगानीकर्ताहरुको गुनासा र जिज्ञासाको सम्बोधन भएको क्रिस्टल कंचनजंघा सेक्युरिटीजकी किशु घिमिरेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds