विराटनगर । मोरङको लेटाङमा महिला प्रहरीको ज्यान गएको घटनाको प्रदेश १ प्रहरी कार्यालयले छानविन अगाडि बढाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । घटनाको सबै पक्षमा अनुसन्धान गरेर दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । एसएसपी चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखको रुपमा कार्यरत छन् ।
मोरङको लेटाङमा आइतबार छात्रामाथि यौनजन्य दूव्र्यवहार भएको घटना सार्वजनिक भएपछि भड्किएको हिंसामा परेर एकजना महिलाको मृत्यु भएको थियो । घटनास्थल अनुगमनमा गएका प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले प्रहरी जवानको मृत्यु भएको घटनाको छानविन गर्ने बताएका थिए । आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए ।

