विराटनगर । प्रहरीले लेटाङ घटनामा संलग्न भएको आशङ्कामा ८ जनालाई पक्राउ गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सोमबार बेलुकासम्ममा ८ जना पक्राउ परेका हुन् । यस्तै प्रशासनले आव्हान गरेको कफ्र्यु आदेशको उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि हिंजो साँझ आक्रमण गरेका थिए । दोषिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले बताउँदा बताउँदै पनि भीड एक्कासी प्रहरीमाथि जाइ लागेको थियो ।

जसका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ भने २५ बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका छन् । उक्त घटनालगत्तै सोमबार लेटाङमा पुगेर प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले घटनाको स्थलगत जानकारी लिएको छ ।