विराटनगर । आफ्नो कर्तव्य निर्वाहको क्रममा अनाहकमा हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई सोमबार कोशी अस्पतालमा परिसरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
अस्पताल परिसरमै प्रहरी अधिकृत तथा जवानहरुले सलामीसहित श्रद्धाञ्जली दिउका थिए । हातमा खादा र पुष्पगुच्छा बोका सबैको आँखामा आँसु भरिएको थियो ।
अस्पतालभित्रको शवगृहमा पोष्टमार्टम सकेर शव बाहिर निकालेपछि श्रेष्ठको पार्थिब शरिर श्रद्धाञ्जलीको लागि राखिएको थियो । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित प्रहरी अधिकृतहरुले श्रद्धाञ्जली अर्पण गरिरहँदा आँसु थाम्न सकेका थिएनन् ।
मोरङको लेटाङमा बलात्कार आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय प्रदर्शनकारीको आक्रमण हुँदा आईतबार राति उर्मिलाको निधन भएको थियो । स्थानीयको चक्कु प्रहारबाट ज्यान गुमाएकी उनको शव उदयपुरमा लगेर अन्त्येष्टी गरिने प्रहरीले जनाएको छ । गएको वैशाखमा प्रहरी जवान कुमार श्रेष्ठसँग विवाहबन्धनमा बाँधिएकी २६ वर्षीय प्रहरी जवान श्रेष्ठको घर उदयपुर हो ।
आइतवार साँझ मोरङको लेटाङ नगरपालिका ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले ७ कक्षामा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि विद्यालयमा तनाब उत्पन्न भएको थियो । घटनाको सूचनापछि शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए ।
उर्मिला श्रेष्ठ २०७६ साल साउन १ गते नेपाल प्रहरीमा भर्ती भएकी थिइन् । उनका दाजु पनि नेपाल प्रहरीमै कार्यरत छन् ।


