विराटनगर । मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले छात्रालाई बलात्कार प्रयास गरेको भन्दै विद्यार्थी र स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि विद्यालय परिसरमा आज तनाव र झडप भएको छ ।
घटनाको बिरोधमा स्थानीय र विद्यार्थी उत्तेजित भएपछि भएको झडपमा प्रहरी र विद्यार्थी गरि केही घाइते भएका छन ।
विद्यालयका शिक्षकले होलीको दिन छात्राको घरमै गएर बलत्कारको प्रयास गरेको घटनापछि विद्यालयमा शिक्षक र स्थानीय जनप्रतिनिधिसहित छलफल भइरहेको अवस्थामा झडप भएको हो । आक्रोशित विद्यार्थी र स्थानीयबासीले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले थुनिएकाहरुलाई उद्धार गरि सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको जनाएको छ ।
प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षको मोटरसाइकल जलाइ दिएका छन् । घटनामा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसिसहित केहि प्रहरी घाइते भएको बताइएको छ ।
घाइतेहरुलाई उपचारको लागि विराटनगर ल्याइदैछ । एक महिला प्रहरी गम्भीर घाइते भएको स्थानीयले जानकारी दिएका छन । मोरङका प्रमुख जिल्ला अधिकारी कासीराज दाहालले घाइतेहरु अस्पताल पुगेपछि अवस्थाबारे जानकारी हुने बताए ।

