विराटनगर । मोरङको कटहरी गाउँपालिका प्रमुखको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा पनि अनियमितता भएको भन्दै छानबिन गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।

नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाले शुक्रबार कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

माओवादी केन्द्रले कटहरी गाउँपालिकाले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गरेको भन्दै छानविन गर्नुपर्ने माग राखेको छ । गाउँपालिकालाई पारिवारिक नियुक्तिको अखडा बनाएको आरोप पनि माओवादीको छ । ्

‘पारिवारिक नियुक्तिको अखडा बनेको गाउँपालिकालाई आजसम्म भएका सबै नियुक्तिहरुको निष्पक्ष छानबिन गरि योग्यतामा आधारित भई नियुक्त भएका बाहेकको नियुक्ति बदर गर्न’ माग गरिएको छ । स्वास्थ्य उपचार वापत जथाभावी तोक आदेशबाट वितरण गरिएको खर्चको छानबिन हुनुपर्ने, जथाभावी मनोमानी वितरण गरिएको इन्धन खर्च एवं अन्य प्रशासनिक खर्चको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने माग राखिएको छ ।

यस्तै महालेखा परिक्षणबाट निर्देशन भएका बेरुजुहरु अविलम्व असुल उपर हुनुपर्ने, २०७५ सालमा बाढीको राहत वितरण नगरी फिर्ता गरिएको ४ करोडको विषयमा आम जनताको आन्दोलनताका भएका सम्पूर्ण सहमतिहरु कार्यान्वयन गरिनुपर्ने र कृषि तथा अन्य क्षेत्रमा भएका वितरणमुखी, सस्तो लोकप्रियता आर्जन गर्ने कार्य तत्काल बन्द गरि कृषिको सामुहिक खेती प्रणाली एवम् जमिनको उपयोगको निति, भू–उपयोगी निति अविलम्ब लागु गर्नुपर्ने माग राख्दै माओवादीले गरेको छ ।

छानविनको माग राख्दै बुझाएको ज्ञापनपत्रको बोदार्थ जिल्ला प्रशासन कार्यालय मोरङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुनसरी इटहरी र आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ को कार्यालयमा पनि पठाइएको छ ।
राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै बुधबार बसेको बिशेष गाउँसभा बैठक पनि जनप्रतिनधिहरुले बहिष्कार गरेका थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गरेको भन्दै छानविन गर्नु पर्ने बताएका थिए ।

कटहरी गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष किशोरकुमार पाण्डेले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गर्नुको साथै ठेक्का बन्दोबस्ती कार्यविधिको प्रक्रिया विपरित अनुचित कार्य भएकाले तीन दिनभित्र धारण प्रस्तुत गर्न माग गरिएको बताए । तीन दिन भित्र माग सम्बन्धन नभए चरणबद्ध अन्दोलनमा उत्रिने माओवादी केन्द्रले चेतवानी दिएको छ ।
निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको र स्थानीय तहको निर्वाचन आउन ६५ दिन मात्र बाँकी रहेको बेला आगामी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले गाउँपालिकाले हतारमा विशेष गाउँसभा गर्नु पनि भ्रष्टाचारको अर्को प्रयत्न भएको आरोप ज्ञापनपत्रमा उल्लेखछ ।

कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले कुनै पनि काम एकलौटी नगरेको दावी गरेका छन् । नियमअनुसार काम गर्दा आफुहरुलाई फसाउनको लागि अनेक किसिमका आरोप थुपार्ने गरेको कामतको भनाइ छ ।