विराटनगर । प्रदेश १ का समाजिक विकास मन्त्री जयराम यादवलाई बिहीबार विराटनगरमा सम्मान गरिएको छ । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश १ समितिले एक समारोह आयोजना गरी मन्त्री यादवलाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी फोरम नेपालका प्रदेश अध्यक्ष हरिशंकर प्रसाद साह महासचिव कृष्णलाल यादवले दोसल्ला ओढाएर सम्मान गरे । मन्त्री यादवलाई सम्मानपत्र पनि दिइएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वास्थ्यकर्मीहरूका समस्याहरुका बारेमा आफू अवगत रहेको तर समाधानका लागि प्रदेश सरकारले समन्वय बाहेक धेरै गर्न सक्ने अवस्था नरहेको बताए । उनले स्वास्थ्यकर्मीका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गरी पहल भने गर्न सकिने उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव रहेको, भएका जनशक्तिको उचित कार्यविभाजन नभएको आदि समस्या भएकोले त्यसको समाधानका लागि पहल गर्ने उनको भनाइ थियो । उनले संघीयतालाई बलियो बनाउने गरी सरकारले आफ्ना अधिकारहरुलाई प्रदेश तथा स्थानीय तहलाई अधिकार हस्तान्तर गर्दै गएमा समाधान गर्न सहज हुने बताए ।