बर्बरिकको ‘मृत्युको आँधी’ कविता संग्रह लोकार्पण

विराटनगर । नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईँ बर्बरिकको नयाँ कृतिको रुपमा ‘मृत्युको आँधी’ कविता संग्रह शनिबार लोकार्पण भएको छ । नाट्य लेखन, निर्देशन र कलामा पोख्त बर्बरिकले लेखेका अत्यन्त यथार्थपरक, जीवन्त र मर्मस्पर्शी कविताहरुको संगालो मृत्युको आँधी प्राज्ञ तथा कवि विवस पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार बलराम पोखरेल लगायतका श्रष्टाहरुले विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच एकसाथ लोकार्पण गरे ।

कोसी सांस्कृतिक प्रतिष्ठानले प्रकाशित गरेको बर्बरिकको कविता संग्रहमा ५० वटा कविताहरु समेटिएका छन् । आमा र कैली गाई, सेता मान्छेहरु, सिमाना, माटो र प्रेम, सुनामी, पिंजडा, माला, सत्ता, लाश, मृत्युको आँधी जस्ता बेजोड कविताहरु संग्रहमा संग्रहित छन् ।

लोकार्पण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तथा कवि पोखरेलले साहित्य र सौन्दर्यले छोएको मान्छे पागल जस्तैहुने बताए । पागलपनकै कारण अन्तस्करणबाट साहित्यको सिर्जना हुने भन्दै उनले सिर्जनाहरु त्यसकै उपज भएको बताए । ‘सत्ताले केही दिदैन तर साहित्यले धेरैथोक दिन्छ,’ पोखरेल भन्छन् ‘सत्तामा बसेको मानिस वा सरकारी सेवामा जीवन बिताएकाहरुले जीवनका उत्तरार्धमा कमैमात्र सम्मान पाउँछन् तर साहित्य यस्तो क्षेत्र हो जसले जीवनको अन्तिम अवस्थासम्म पनि सम्मान प्राप्त गरिरहन्छ ।’ उनले आदर्श, स्वाभिमान र नैतिकताको मृत्यु भएको वर्तमान अवस्थामा साहित्य क्षेत्रले त्यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

कवि बर्बरिकका कविता संग्रहमा समेटिएका कविताहरुले मानवीय संवेदना र विद्रोहको प्रतिनिधित्व गरेको सहभागी वक्ताहरुले बताए । कवितामा जनताका दुःख र पीडाहरु व्यक्त भएको र कविले सत्ताको प्रकृतिलाई राम्रोसँग उजागर गरेको पनि पोखरेलले बताए । कविले बाघ र सत्ता उस्तै हुन् भनेर चित्रण गरेको भन्दै सत्ताको प्रकृति जनपक्षीत हुन नसकिरहेको तर्फ प्रहार गरेको उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार बलराम पोखरेल, समालोचक दधिराज सुवेदी, चुडामणि अकिञ्चन, तारा पराजुली ढकाल, राधा सुवेदी, धिरज राई, लक्ष्मीअच्युत ढुंगाना, शुभलक्ष्मी लम्साल, सहित्यकार तिलालेखा लगायतले कविता बाचन गरेका थिए ।

साहित्यकार रिता पाठकको सञ्चालन र झोराहाट थ्रेटर इन द भिलेजका छत्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव मुक्ति शर्मा लगायतले शुभकामना व्यक्त गरे भने कवि रोहिणि रसिकले स्वागत गरेका थिए । कार्यक्रममा कवि भरत गुरागाईँ बर्बरिकले कार्यक्रमलाई महत्व दिएर धरान, इनरुवा, विराटचोक आदि क्षेत्रबाट आउने श्रष्टाहरुलाई सम्मान र धन्यवाद ज्ञापन गरे ।

शनिबार, ११ मंसिर, २०७८, साँझको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर