विराटनगर । उनका बाबुआमा खेततिरै व्यस्त थिए । घरको आँगनमा चार वर्षीया बालिका एक्लै खेलिरहेकी थिइन् । त्यहीबेला आँगनमा साइकल चढेर एक व्यक्ति आइपुग्छ ।
त्यो व्यक्तिले बालिकालाई साइकलमा राख्छ । र, कतै लिएर जान्छ । चार वर्षकी बालिकालाई फकाएर खोलामा पुर्याएको त्यो व्यक्तिले अन्ततः ती बालिकालाई बलात्कार गर्छ । त्यतिले नपुगेर खोलाको ढुंगाले हिर्काउँछ । केहीबेर अघिसम्म घरको आँगनमा खेलिरहेकी बालिका त्यो नृंशस आक्रमणमा परेर बेहोस् हुन्छिन् । त्यो व्यक्ति बेहोस बालिकालाई त्यहीँ छाडेर हिँड्छ ।
मान्छेका लागि असम्भव लाग्ने अपराधको यो वर्णन कुनै अपराधी सिनेमाको कथा होइन । मोरङ जिल्ला कटहरी गाउँपालिकाभित्रै भर्खरै घटित एउटा अकल्पनीय घटनाको वर्णन हो यो । सुन्दै कहालीलाग्दो यो घटनाकी पीडित बालिका यतिबेला अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छिन् । बालिकालाई मरणासन्न बनाउने अपराधी प्रहरी नियन्त्रणमा छ ।
मोरङको कटहरी गाउँपालिकाकी चार वर्षीया ती बालिकालाई बलात्कार गरेर फाल्ने यौन पिपासु प्रहरी फन्दामा परेपछि अनुसन्धान सुरु भएको छ । भारत बिहारको अररिया घर भइ मोरङको कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सरदारले घरमा खेल्दै गरेकी बालिकालाई कटहरी ७ मा रहेको लोहन्द्रा खोलामा लगेर शनिबार राती ८ बजे जवरजस्ती करणी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
श्रमिक काम गर्ने सरदार शनिबार साइकलमा डुल्दै ती बालिकाको घरतिर आएका थिए । बालिकाका बावुआमा खेती किसानी गर्दछन् । अहिले धान थन्क्याउने सिजन भएकोले उनीहरू मेलापातमा गएका थिए ।
‘त्यसदिन घरमा ती बालिका एक्लै थिइन् । कोही नभएको मौका छोपेर सरदार आएर बालिकालाई साइकलमा हालेर घरबाट करिब ७ सय मिटर नजिक रहेको लोहन्द्रा खोलामा लगेर जवरजस्ती करणी गरेको पाइएको छ । त्यसपछि बालिकालाई ढुङ्गा प्रहार गरेर घाइते बनाएको रहेछ । घरमा छोरी नभटेपछि हामी खोज्दै लोहन्द्र खोलामा पुग्दा अर्धनग्न अवस्थामा छोरी अचेत अवस्थामा थिइन्,’ बालिकाका आफन्तले भने, ‘योनीदेखि रगत बगिरहेको थियो । अनुहार र शरीरभरी चोटपटक थियो । अचेत अवस्थामा अस्पताल ल्याएका हौं ।’
पीडित बालिकाको उपचार अहिले कोशी अस्पतालमा भइरहेको छ । वालिकाको अवस्था चिन्ताजनक छ । उनी रुने, कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । उनको जीउ भरी निलडामहरु छन् । वलात्कृत वालिकाका अभिभावकको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधि उपचार गर्नसमेत नसकेको पीडितका आफन्तले बताएका छन् ।
नाबालिकालाई बलात्कार गर्ने सरदारलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए । आइतबार मोरङ अदालतमा जवरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

