लीलावल्लभ घिमिरे
अध्यक्ष पुष्पकमल दाहाल ज्यू
यस अघिपनि बेलाबेला तपाईँलाई यसरी नै खुल्ला पत्र लेख्ने दुष्प्रयास नगरेको भने हैन । कुनै त्यस्तापनि थिए तपाईँलाई पुष्पकमल भनेर सम्बोधन गर्दा समेत डरले मुटु काँप्थ्यो । तपाईँलाई प्रचण्डभन्दा अर्को नामले पुकार्न असम्भव जस्तो थियो । तर, समय फेरीएको छ ।
अध्यक्ष ज्यू, आज मैले तपाईँका नाममा खुल्ला पत्र लेख्नुको कारण तपाईँले पछिल्लो समय दिनुभएको अभिव्यक्ति हो । एउटा कार्यक्रममा बोल्ने क्रममा तपाईँ निकै भावुक बन्नुभयो । हुन त यो भावुकता पहिलो पटक देखिएको हैन तपाईँमा । बेलाबेला यसरी भावना बग्ने तपाईँको पुरानै बानी हो ।
विद्यार्थी संगठको कार्यक्रमा बोल्ने क्रममा तपाईँले हिन्दी फिल्म ‘भगत सिंह’ को राम्रैसँग ब्याख्या गर्नुभयो । त्यसै क्रममा फिल्मलाई सम्झिनु भएको मात्र हैन फिल्मका मुख्यपात्र चन्द्रशेखर आजाद जस्तै आफुलाई पनि आत्महत्या गर्ने सोच आएको बताउनु भयो । यसले मलाई निकै चिन्तित बनाएको छ ।
हिन्दी फिल्ममा चन्द्रशेखर आजाद छन् । लड्दै गर्दा चारैतिर दुश्मनले घेरा हालेको छ । अब फुत्किने ठाउँ रहेन चन्द्रशेखरको । एउटा रूखमुनी बसेका हुन्छन् । पेस्तोल हुन्छ उनीसँग । अब मार्ने नै भए प्रतिक्रियावादीहरूले भनेर एक मुठ्ठी माटो समाउँछन् र समाएर भन्छन् धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ भनेर आफैंले आत्महत्या गर्छन् । यो फिल्म धेरै नेपालीले हेरेका छन् । वास्तवमा तपाईँको अवस्था त्यहाँसम्म पुग्नुपनि अस्वाभाविक भने पक्कैपनि होइन । नेपालको राजनीति जुन बाटोमा हिँडिरहेको छ । यसले तपाईँलाई यो पटक होइन फेरिपनि पटक–पटक आत्माहत्या गर्ने सोचमा नपु¥याउला भन्ने छैन ।
केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तपाईँकै भनाइमा झण्डै आत्मसमर्पण गरी आत्महत्या गर्नुपर्ने वा लड्नुपर्ने विकल्प खडा भएको हो । झण्डै–झण्डै मेरो अगाडि अब फेरि लडाइँ गर्ने कि, आत्मसमर्पण दुइवटा मात्र विकल्प रहेको कुरा तपाईँले बताउनु भएको छ । आत्मसमर्पण त गर्न सक्दिनँ, गर्न हुँदैन । हजारौं सहिद, बेपत्ता, घाइते, अपाङ्ग योद्दाहरूको सबै ऋण मेरो टाउकोमा छ । या त मैले सकिनँ यत्ति नै रहेछ भनेर आत्महत्या गर्नुपर्ने या त लड्न पर्ने । लड्ने कि मर्ने भने कुरा फेरि पनि आउन सक्छ ।
नेपालको राजनीति जुन तरिकाले अघि बढिरहेको छ । यस्तो सोच त तपाईँलाई मात्र हैन अरु धेरै नेताहरुलाई पनि आउनु पर्ने हो यदि उनीहरुलाई देशको चिन्ता छ भने ।
अध्यक्ष प्रचण्ड एक पटक सम्झनुस् त !
यो देशको आमूल परिवर्तन गर्ने भन्दै राज्यसत्ता विरुद्ध हतियार उठाउनु भयो । १७ हजार नेपालीको ज्यान गयो । आज देशमा पटक–पटक व्यवस्थाहरु परिवर्तन भए । तर, राणाकालका नीति नियम र संस्कारलाई हामीहरुले परिर्वतन गर्न सकेका छैनौं । अन्य मुलुकमा राजनीतिक दलका नेताहरुले समाजलाई परिवर्तन गर्छन् । तर नेपालमा समाजले राजनीतिक दलका नेताहरुलाई नै परिवर्तन गरिदिन्छ । आज एक पटक त्यो विद्यार्थीहरुको सभामा सोचेर बोले जस्तै गरी सोच्नु होस् त तपाईँ र मरिचमान र लोकेन्द्रबहादुर बीच के फरक छ । वास्तवामा भन्नु पर्छ धेरै फरक पाउन मुस्किल छ । यो देशको प्रधानमन्त्री जो बन्छन् त्यो लालुको कथा जस्तै हुन्छ । लालुका धेरै कथा छन् । त्यसमध्ये एउटा मैले सुनेको कथा हो लालुलाई अंग्रेजी सिकाउने ।
लालुलाई अंग्रेजी बोल्न सिकाउन अमेरिका लगिएछ । अमेरिकाका तत्कालीन राष्ट्रपति र्जज बुसले लालुलाई अंग्रेजी सिकाउन थालेछन् । एक महिनाभित्र लालुलाई अंग्रेजी बोल्न जान्ने बनाउने उनले घोषणा गरेछन् । एक महिना बित्यो । अन्तिम दिन साराका सारा पत्रकार त्यहाँ भेला भए । लालुले ह्वाइट हाउसबाट कति बेला बाहिर निस्केर अंग्रेजी बोल्ला भनेर सबै पत्रकारहरु प्रतिक्षामा बसेका थिए । समय निकै बितेको थियो । निकै आक्रोशित मुद्रामा बाहिर निस्केका जर्ज बुसले झोकिँदै भनेछन् ‘लालु कभि नै सुध्रेगा’ । नेपालका राजनेताहरुको अवस्था पनि त्यस्तै छ । जसरी लालुलाई अंग्रेजी सिकाउन गुरु बनेका जर्ज बुसले उल्टै हिन्दी सिके त्यसैगरी हाम्रा नेताहरुपनि ‘कभि नै सुध्रेगा’ शैलीमा नै अघि बढिरहेका छन् । अध्यक्ष प्रचण्ड तपाईँपनि यही लालु पथमा नै हुनुहुन्छ । धेरैले तपाईँको विश्वास गरेका थिए । हजारौं नेपालीले तपाईँकै आव्हानमा आफ्नो ज्यानको बलिदानी दिए । आज तपाईँलाई मर्न मन लागिरहेको छ । तपाईँले यसो भनिरहँदा आफूले गरेका गल्तीहरुलाई जनता सामु राख्ने हिम्मत गर्नुपर्छ । तपाईँलाई आत्महत्या गर्ने अधिकार अहिलेलाई छैन । अरु कसैको ऋण खाएर मर्न हँुदैन भन्ने धार्मिक नियम छ । तर, हाम्रो देश धेरै ऋण भयो भनेपनि आत्महत्या गर्ने देशमा पर्छ । यदि तपाईँले त्यही अनुसारको बाटो रोज्नु भएको भए भन्नु केही छैन । हैनभने कमरेड मर्ने हैन बाँचेर देश बचाउने सोच लिएर आउनुस् तपाईँ धेरै भावना बहनु भयोभने प्रतिक्रियावादीहरुका शिर उठ्ने छन् । फेरिपनि यतिका संघर्ष गरेर ल्याएको संघीयतासहितको गणतन्त्रको घाँटी निमोठिने छ । त्यसैले कमरेड मर्ने कुरा होइन बाँचेर केही गर्ने कुरा गर्नुस् ।
मर्नु को अलावा अरु बचोनै केर दाजु पुष्प कमल दाहाल उर्फ प्रचंड को