कांग्रेसको महानगर सहसचिवमा भिड्छु

 दिवश नेपाल

नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपछि आगामी योजना के छ ?

– सबैभन्दा पहिले म २०५७ सालमा नेविसंघमा आवद्ध भएको हो । त्यसबेला म ९ कक्षामा पढ्थें । मेरो पारिवारिक वातारण नै राजनीतिक थियो । त्यसपछि म महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको इकाइ सदस्य हुँदै इकाइको सहसचिव र सचिवसम्म भएँ । नेपाल विद्यार्थी संघ तत्कालीन क्षेत्र नम्बर ६ को सभापति हुँदै नेविसंघको जिल्ला सदस्य रहेको छु । हरेक प्रकारका आन्दोलन, समर्थन, पार्टीले दिएका जिम्मेवारी पुरा गर्दै आएको छु । अहिले भनेको सामाजिक, आर्थिक, खेल क्षेत्रमा पनि संलग्न छु । हाम्रो तेक्वान्दो संघ मोरङको अध्यक्ष पनि छु । त्यसैगरी विराटनगर महानगरपालिका नै मेरो जन्मथलो भएको कारण विभिन्न सामाजिक भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको छु । अब राजनीतिक रुपमा अगाडि बढ्न मैले विराटगनर महानगर कमिटीको सह–सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेर तयारीमा जुटेको छु ।

महानगरमा काँग्रेसको सहसचिबको रुपमा कार्यकर्ताले तपाईँलाई नै किन रोज्छन् ?

अबको युग युवालाई काम र अग्रजलाई सम्मानको हुनुपर्छ । युवालाई अधिकतम् ढंगले काममा लगाउनु पर्छ । म पनि युवा भएकोले सोही अनुसार मेहनतका साथ अगाडि बढीरहेको छु र हरेक क्षेत्रमा मैले प्रमाणित पनि गरेको छु । म विराटनगरको सोमबारे हाटमा जन्म लिएर, हाल अमरटोलमा बसोबास गरिरहेको छु । यहींको माटोमा जन्मेहुर्केको कारण मैले विराटनगरको समस्याबारे नजिकबाट हेरेको छु र विराटनगरकै नेतृत्व गर्ने सोच बनाएको छु ।

युवाले नेतृत्व गर्ने भन्नुको अर्थ महानगरको मेयर बन्ने भनेको हो ?

– अहिले त्यति टाढा नपुगौं । तत्कालका लागि अहिले मानिसको मन जित्ने, काम गर्ने हो । जनताको मन जित्दै गएको अवस्थामा महानगरको नेतृत्व भविश्यको कुरा हो लिन पनि सकिन्छ ।

क्षेत्रीय प्रतिनिधिहरुको मनोभावना कस्तो पाउनुभएको छ ? अनि तपाईँले जित्ने आधार के छन् ?

– मसँगै अहोरात्र कांग्रेसमै खट्ने साथीहरु प्रतिस्पिर्धी भएर आउँदै हुनुहुन्छ । तर, म विशेषगरी राजनीतिक गुट–उपगुटको भन्दा पनि सबैको सम्मान गर्ने र आफ्नो क्षमताले काम गर्न सक्छु जस्तो लाग्छ । अग्रजको सम्मान र युवाको साथ लिएर मैले जित्ने अपेक्षा गरेको छु ।

कांग्रेसमा हजुरबा पुस्ताले नेतृत्वमा चुनाव लड्दै गर्दा युवाहरुको प्रतिनिधित्व कसरी सुनिश्चित गर्छ ?

– हाम्रो नेतृत्वहरुले उमेरको हदबन्दी कायम नगर्ने र नमरुन्जेल नेतृत्वमा रहने सोचले पनि यस्तो अवस्था आएको हो । युवाहरुलाई ल्याउनुपर्छ र मैले बाटो खोल्नुपर्छ भन्ने सोच उहाँहरुको नभएको देखिन्छ । तर, पनि अहिले भइरहेको विषयमा अग्रजलाई सम्मान गर्नुपर्छ, सल्लाह सुझाव पनि लिनुपर्छ । यो भन्दैगर्दा पनि अब पार्टीलाई संगठित गर्ने र फिल्डमा खट्ने समूह भनेको युवाहरु नै हो । युवाहरुलाई नै अगाडि बढाउनु आवश्यक छ । कांग्रेसले त्यसको लागि उचित वातावरण बनाउनुपर्छ ।

पार्टीगत एजेण्डा बाहेक स्वास्थ्य, शिक्षा, रोजगार, घरेलु हिंसा अन्त्य गर्ने विषयमा तपार्इँको धारणा के छन् ? तपाईसँग के नयाँ कार्यक्रम छन् ?

– मेरो प्राथमिकता भनेकै स्वास्थ्य र शिक्षा हो । जुन सरकारी स्कूलका कयौं बिघा जमिन छन् तर, जीर्ण भवनहरु छन् । भएको भवनमा पनि विद्यार्थी छैनन् । तर, बोर्डिङको नाममा टिनले बारेर खोलेका स्कुलहरुमा विद्यार्थीको आाकर्षण देखिन्छ । यसमा बुझ्नुपर्ने विषय के हो भने अभिभावकले आफ्ना छोराछोरीलाई गाँस काटेर भएपनि गुणस्तरीय शिक्षा दिन चाहन्छन् । तर, त्यो स्तरले हामी अगाडि बढ्न सकेका छैनौं । सुरुवात नभएको पनि होइन, विराटनगरका आदर्श, पोखरिया जस्ता स्कुलहरुले राम्रो शिक्षा पनि दिइरहेका छन् । तर, उहाँहरुले आफैंले उत्पादन गरेका विद्यार्थीलाई त्यस प्रकारको क्षमतामा पु¥याउने चुनौती अझैपनि छ । नर्सरी कक्षादेखि नै सरकारी विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने र एसईईसम्म पुग्ने अवस्था निर्माण गर्नुपर्छ । यस्तै स्वास्थ्यको क्षेत्रमा सहुलियतपूर्ण सेवा दिने गरी सरकारी स्वास्थ्यसंस्थालाई बलियो र प्रमावकारी बनाउनुपर्छ । रोजगारीको नयाँ अवसर सिर्जना हुनेगरी राज्यले पहल लिनुपर्छ । स्थानीय स्तरमा पनि सोही अनुसारको योजना बनाउने गरी दबाब दिन मेरो पहल र प्रयत्न हुनेछ ।

बिहिबार, १४ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर