विराटनगर । सामाजिक उपेक्षा सहन गर्दै आएका तेश्रोलिंगीहरुले पुर्ण अधिकार सुनिश्चितताकोे माग गर्दै र्याली निकालेका छन् ।
एक वर्षयता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीहरुले र्याली निकालेका हुन् । विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट निस्किएको र्याली बसपार्क, महेन्द्र चौक र ट्राफिक चौक हुँदै सन्सारी माईस्थान पुगेर गएर समापन भएको थियो । र्यालीका क्रममा उनीहरुले वैवाहिक समानतालाई कानुनी मान्यता देउ, मलाई समलिङ्गी हुनुमा गर्व छ, लिङ्ग, जात, धर्म र वर्णको आधारमा भेदभाव नगरौं, मेरो शरीर मेरो अधिकार, शिक्षा, स्वास्थ्य र रोजगार समावेशी होस तथा हाम्रो संस्कृति हाम्रो पहिचान लगायतका नारा समेत घन्काएका थिए ।
तेश्रोलिंगीहरुको सवालमा संविधानले सुनिश्चत गरेका प्रत्येक हक र अधिकार कार्यान्वयन हुनुपर्ने तथा राज्यस्तरबाटै भईरहेको भेदभावको समेत अन्त्य हुनुपर्ने उनीहरुको माग थियो । र्यालीलाई सम्बोधन गर्दै आयोजक ब्लु डायमन्ड सोसाईटी विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले समाजका कारण वर्षभरि आफ्नो पहिचान लुकाउँदै तेश्रोलिंगीहरुले यस दिनलाई आफ्नो पहिचान खुलाउने दिनका रुपमा समेत लिने गरेको बताईन् ।
ब्लु डायमण्ड सोसाईटी र ‘राईट हियर राईट नाउ’ नामक संस्थाद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमलाई अमेरिकी दुतावासले समेत सहयोग गरेको छ । मोरङमा भने करिब १५ हजारको संख्यामा तेश्रोलिंगीहरु रहेको ब्लु डायमण्ड सोसाईटीको तथ्याङ्क छ ।
केही तस्बिरहरु :