संचारकर्मी अधिकारीको पहलमा कुलमायाका परिवारले नयाँ घर पाउँदै

दमक । झापा कमल गाउँपालिका ५ कि स्व.कुलमाया बस्नेतको परिवारले नयाँ घर पाउने भएका छन् । कमल गाउँपालिका–५ मा अर्काको घरमा बसेर अर्काकै जग्गा कमाउँदै आएका बस्नेतको परिवारले नयाँ घर पाउने भएको हो ।

अढाई वर्षअघि खोले पकाउने क्रममा आगोमा परेर गम्भीर घाईते भएकी कुलमायालाई परिवारले आर्थिक अभावका कारण उपचार गर्न नसकेर केराको पातमा सुताएर राखेको समाचार उनै सञ्चारकर्मी सुदिप अधिकारीले बाहिर ल्याएका थिए । उनकै सक्रियतामा कमल गाउँपालिकाका समाजसेवी हुकुमसिंह राईको संयोजकत्वमा कुलमाया बचाउ अभियान सुरु भएको थियो ।

तत्पश्चात दमकस्थित एड्भान्स अस्पतालका सञ्चालकद्वय चैतन्य बराल र माधव पराजुलीले बस्नेतको उपचार आफ्नो अस्पतालमा निःशुल्क गरिदिने बताएका थिए । कुलमायाको उपचारकै क्रममा मृत्यु भएपछि उनको नाममा संकलित रकम उक्त समितिले दमकस्थित एक बैंकमा खाता खोलेर राखेको थियो ।

उक्त रकमको केही प्रतिशत मात्र खर्च गरि अन्य रकम मनकारी दाताहरुको सहयोगमा संकलन भएपछि उनको परिवारका लागि घर निर्माण भएको हो। कमल गाउँपालिका ५ मै जग्गा व्यवस्थापन गरि कुलमाया बचाउँ अभियानलाई कुलमायाको परिवारलाई घर निर्माण गर्न अभियानलाई निर्माण समितिमा रुपान्तरण गरि १० धुर जग्गामा ३ कोठे घर निर्माण सम्पन्न भएको छ ।

कुलमायाको विषयमा पहिलोपटक आम सञ्चार माध्यममार्फत समाचार बाहिर ल्याएका अधिकारीका अनुसार अभियान तथा समितिमा भएको सम्पूर्ण हिसाव किताब स्वर्गीय कुलमायाका बुवा देबीबहादुर बस्नेतलाई घरको चाबी हस्तान्तरण गर्ने दिन सार्वजनिक गरिने छ ।

यसै हप्ता कुलमायाको परिवारलाई घरको चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । कुलमाया मानसिक रुपमा अशक्त समेत रहेको र उनको परिवारका सदस्यको आय स्रोत नभएका कारण कुलमायाको उपचारमा समस्या भएको थियो ।

मङ्गलबार, १५ असार, २०७८, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर