प्रहरीकै संरक्षणमा स्याउ तस्करी प्रकरण : एसएसपीको नेतृत्वमा छुट्टा–छुट्टै छानविन सुरू

विराटनगर । भारततर्फ तीन ट्रक चाइनिज स्याउ तस्करी प्रकरणमा सुरक्षा निकायाका उच्च पदस्थ अधिकृतको नेतृत्वमा छुटा–छुट्टै समिति बनाएर छानविन सुरू गरिएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा लगाएको समयमा सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको लौकही नाकाबाट रातारात तीनवटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटा–छुट्टै समिति बनाएर छानविन सुरु गरिएको हो ।

स्याउ तस्करीमा प्रहरीका उच्च तहका अधिकारीदेखि जुनियर प्रहरी अधिृकतसम्मको नाम लिएर उक्त घटनामा संलग्न भएको शंका उपशंका सुरु भएको छ । उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुटा–छुट्टै समिति गठन गरेर अनुसन्धान सुरु गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एसएसपीको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको भने सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय सुनसरीले पनि एसएसपी नेतृत्वमा तीन सदस्य छानविन सुरू गरेको छ ।

छानविनका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी डिएसपी लक्ष्मी भण्डारी, इन्स्पेक्टर मोहन रायमाझी र अन्य तीन जना जुनियर प्रहरी रहेका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय सुनसरीका एसएसपी प्रकाश थापा र डिएसपी नविन बोगटीको नेतृत्वमा तीन सदस्य छानविन समिति बनाएको डिआइजी वंशीराज दाहालले जानकारी दिए । ‘कसको संलग्नमा कुन नाकादेखि कसरी ट्रकमा स्याउ भारत पुग्यो गठित छानविन टोलीले छानविन गर्ने काम सुरु भएको छ,’ डिआइजी दाहालले भने, ‘छानविन टोलीले दिएको प्रतिवेदनको आधारमा थप प्रक्रिया हामी अगाडि बढाउनेछौं ।’

चीनबाट आयात गरिएको स्याउ अवैध सीमा कटाएर भारतको वीरपुर पु¥याएपछि भारतीय प्रहरीको नियन्त्रणमा परेको थियो । उक्त स्याउ बोकेर गएका तीनवटा नेपाली ट्रकसहित आठ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

एक हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा सुनसरी जिल्लाका उच्च प्रहरी अधिकारीको समेत संलग्नता आशंका गरिएको छ । सीमा बन्द भएको बखत हुने तस्करीमा प्रहरीको मिलेमतो बाहेक सम्भव नै नहुने भएको भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो । छानविन समितिले घटनाको विषयमा बुझ्न थालिसकेको र सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको प्रदेश प्रहरीका प्रवक्ता एसपी श्रेष्ठले जानकारी दिए । ‘गठित छानविन समितिलाई हप्तादिनको समयसीमा दिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘छानविन समितिले दिएको प्रतिवेदनको आधारमा थप कारवाहीको प्रक्रिया अगाडि बढ्छ ।’

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत संलग्नता रहेको दाबी गरिएको छ । घटनापछि सुनसरीको तीन वटा नाकादेखि तस्करी भएर स्याउ भारत गएको हुनसक्ने आशंका गर्दै सईसहित तीनजनालाई तत्काल निलम्बनका लागि सिफारिस गरिएको थियो । प्रदेश प्रहरी कार्यालयले सीमा प्रहरी चौकी भाण्टाबारीका प्रमुख सई गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो । थापा सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका भतिज रहेको बुझिएको छ ।

यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इन्चार्ज असई आसनारायण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई प्रदेश प्रहरीले निलम्बन गरिसकेको छ । सईलाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिएको हो भने सईमुनीका लागि प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको थियो । उनीहरुलाई निलम्बनपछि भाण्टाबारी प्रहरी चौकीमा सई दिपक कार्की, कोशी कटान प्रहरी चौकीमा असई नविन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सई वर्ष कुमार राईलाई खटाइएको थियो ।

सुनसरीको श्रीपुर, लौकही, साहेबगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट तस्करी हँुँदै आएको छ । नेपाल प्रहरी मात्रै नभई सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्चार्ज इन्सिपेक्टर महेश कार्कीसहितको टोलीलाई समेत तस्करीमा संलग्न भएको आशंकामा फिर्ता बोलाइएको छ ।

बिहिबार, ०३ असार, २०७८, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर