पल्स अक्सिमिटर भनेको हाम्रो शरीरभित्र शुद्ध रगत लिएर बग्ने नशा (आर्टरी) मा बग्ने रगतमा अक्सिजनको प्रतिशत मात्रा मापन गर्ने एक पोर्टेबल अर्थात खल्तीमै बोकेर हिड्न सकिने अक्सिजन मापक यन्त्र हो । यसको विशेषता भनेको नघोचिकनै मिनेटभरमा शरीरमा अक्सिजनको मात्रा कति छ भनी बताइदिन सक्नु हो । कसैकसैले कानमा र बच्चाको हकमा खुट्टाको औंलामा समेत लगाएर हेर्न सकिने भएता पनि प्रायः यो हातको औंलामा लगाएर प्रयोग गरिन्छ । निक्कै खोज र लामो अनुसन्धान गरेर सन् १९७४ मा जापानिज बायोइन्जिनियर ताकुओ ओयागिले यसको आविष्कार गरेका हुन् । जसको एक वर्ष अघिमात्रै निधन भएको छ ।
पल्स अक्सिमिटरको माथिको भागमा दुई प्रकारका प्रकाशका स्रोत (लाइट सोर्स) रहेका हुन्छन् । जसै यसलाई अन गरिन्छ, औंलाको माथि पर्ने भागबाट एलइडी (लाइट इमिटिङ्ग डायोड) लाइट र इन्फ्रा रेड लाइट छुट्दछन् । अक्सिजन लोड गरेको र अनलोड गरेको हेमोग्लोबिन (अक्सिजन बोक्ने तत्व) मध्ये एलइडी लाइटलाई अक्सिजनरहित हेमोग्लोबिनले बढी सोस्दछ भने इन्फ्रा रेड लाइटलाई अक्सिजनयुक्त हेमोग्लोबिनले बढी सोस्दछ । सोसिएर बाँकी रहेर छुटेका दुवै थरी लाइटको मात्रालाई औंलाको तल पर्ने विशेष सेन्सरले पढेर आफ से आफ गणना गरी अक्सिजनको प्रतिशत मात्रा बताइदिन्छ । त्यसैको माथिपट्टि रहेको डिस्प्लेमार्फत त्यो हेर्न सकिन्छ । अक्सिजनको मात्रासँगै नाडीको गति पनि बताइदिने हुनाले यसको नाम पल्स अक्सिमिटर रहन गएको हो ।
यसले कत्तिको सही रिपोर्ट दिन्छ भन्ने खुल्दुली धेरैमा छ । कोरोना संक्रमणपछि धेरै प्रयोगमा आएको छ, यो । तर, हाम्रो शरीरमा अक्सिजनको मात्रा खासमा कति हुनुपर्ने हो भन्ने पनि धेरैलाई यकिन नहुनसक्छ । आर्टरीको रगत नै निकालेर गरिने ‘आर्टरियल ब्लड ग्यास एनालाइसिस) ए बि जी ले देखाउने भन्दा दुई प्रतिशतसम्मले मात्र तलमाथि पर्नसक्ने हुनाले यो टेस्टलाई विश्वसनीय टेस्ट मानिएको छ । स्वस्थ्य मान्छेको शरीरमा अक्सिजन स्याचुरेशन (प्रतिशत मात्रा) ९५ प्रतिशतभन्दा बढी रहेको हुन्छ । ९० प्रतिशतसम्म देखाउँदा र कुनै लक्षण नभए ठूलो समस्या होइन भनी बुझ्न सकिन्छ । अवस्था हेरिकन ९० प्रतिशतभन्दा मुनि देखाएको खण्डमा भने सोधीखोजी गर्नुपर्दछ । कहिलेकाँही यसको मापन गर्न नमिलेको हुनसक्ने हुँदा कम देखायो भन्दैमा एकैपल्टमा आत्तिहाल्नु भने हुदैन । एक पटक पुनः रीत पु¥याएर दोहो¥याउनु पर्दछ ।
अक्सिमिटर प्रयोग गर्नु अगाडि सर्वप्रथम ५ देखि १० मिनेट आराम गर्ने गर्नुपर्छ । किनकि कहिलेकाही हस्याङ्गफस्याङ गर्दा वा अलिक आत्तिएर हेर्न खोज्दा सही मात्रा नदेखाउन सक्छ । त्यसपछि हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने । किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन गई गलत रिपोर्ट निस्किन सक्छ । नङमा पालिश छ भने पुछेर र झ्याल खोली केही शुद्ध हावा लिएर हातलाई आरामले अडेस लगाई बुढी औंला वा माझी औंलामा यसलाई च्यापेर मेशिन अनुसारको आवाज आउन दिने वा नत्र भए एक मिनेट जति पर्खिएर सबैभन्दा माथिल्लो अंकमा रोक्किएको केही बेर कुरेर रिपोर्ट लिने । केही कन्फ्युजन भयो वा सोचेको भन्दा कम वा बढी देखियो भने ५ मिनेट जति कुरेर पुनः रेकर्ड गर्ने र त्यसलाई कतै मिति र समय अनुसार टिपेर राख्ने ।
धेरै जना झुक्किएको पाइएको छ कि यसले कोभिड भए वा नभएको बताउन सक्दछ भनेर । होइन, यो केवल भ्रम हो । यसले कोभिड डायग्नोसिस गर्ने होइन बल्कि कुनैपनि कारणले शरीरमा अक्सिजनको मात्रा घटेको हुनसक्ने वा सामान्य नै रहेको तर्क गर्ने मात्र हो । कोभिड आफैंमा फोक्सोमा असर गर्ने रोग भएको र यसले श्वासप्रश्वासमा अप्ठ्यारो पारी अक्सिजनको मात्रा घटाउनसक्ने भएकाले अक्सिजनको मात्रा देखाई कोभिडको गम्भीरता आँकलन गर्न सघाउने भने पक्कै हो । ९५ प्रतिशतभन्दा बढी भए सामान्य भनी बुझ्ने, ९० प्रतिशतसम्म देखाउदा पनि झ्यालको छेउमा जाने, केही बेर घोप्टो परी बस्ने (प्रोन पोजिशन) र पुनः जाँच गर्ने । पटक–पटक त्योभन्दा कम भएमा भने सम्भावना भए अनुसारको र व्यवहारिकता अनुसारको स्वास्थ्य राय लिने ।
पल्स अक्सिमिटर व्यक्तिपिच्छे अलग राख्नु पर्दैन । यो एउटा परिवारले एउटा साझा राख्दा राम्रो हुन्छ । आवश्यकता अनुसार स्यानिटाइजरले हल्कासँग पुछेर परिवारका सदस्य र सुरक्षित रहँदै वरपर बस्ने निश्चित व्यक्तिले समेत प्रयोग गर्दा फरक पर्दैन । यसमा कसैको कोडवर्ड वा पासवर्ड राखेर निजीकरण गरिराख्नु पर्दैन । त्यसैले यसलाई धेरै जनाले प्रयोग गरी छुट्टाछुट्टै रेकर्ड टिपेर राख्न सकिन्छ । व्यापारिक प्रयोजनले एकजनाको लागि एउटा चाहिने जसरी व्याख्या गरिएको भएता पनि त्यो पूर्णतया भ्रम नै हो । सोसल मिडियामा छ्याप्छ्याप्ती आउने विज्ञापनको भन्दा मेडिकल विषयमा मेडिकल पर्सनकै कुरा सुनेको राम्रो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।