विराटनगर । किराँत सभ्यतासँग जोडिएको खुवालुङ हटाएर सप्तकोसीमा जलमार्ग बनाउन लागेपछि सरकार र स्थानीयबीच विवाद चर्किएको छ । हाल उक्त विवाद सरकार र स्थानीयबीच मात्रै नभएर केही मन्त्री र सांसदहरुबीच आरोप–प्रत्यारोपको श्रृङ्खला समेत चल्न थालेको छ ।
यही सन्दर्भलाई लिएर बिहीबार (आज) सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘लठुवा मन्त्री’ले संस्कार बिहीन प्रतिक्रिया दिएको बताएका छन् । आङ्बोले कुन मन्त्रीप्रति इंगित गरेको हो भन्ने कुरा सार्वजनिक भइसकेको छैन । साथै कुन मन्त्रीले के प्रतिक्रिया दिएपछि आङ्बोको यस्तो प्रतिक्रिया आएको हो भन्ने पनि खुलासा भएको छैन ।
आङ्बोको स्टाटस यस्तो छ
सांसदहरू खुवालुङ पुगेर सरोकारवाला नागरिकहरुको आवाज सुन्यौं खुवालुङ संरक्षणको निम्ति उठेका नागरिक आवाजलार्इ ऐक्यबद्धता जाहेर गर्यौ, सभ्यता संस्कृती र सम्पदा अतिक्रमण र ध्वंस हैन संरक्षण गर्न राज्यले नै अग्रसरता लिनुपर्छ भन्यौं, खुवालुङ संरक्षण गरेरै जल यातायात सञ्चालनको निम्ति सरकारसँग आग्रह गर्ने निष्कर्ष निकाल्यौ । हामीले सरकार र विकासको बिरोध पटक्कै गरेनौं तर प्रदेश सरकारको एकजना उपबुज्रुक लठुवा मन्त्री जो आफूलाई ‘बा’कै पुत्र सम्झन्छ्न् उनको अराजनैतिक र सस्कार बिहिन प्रतिकृया सुन्दा अचम्मै लागेको छ। फेरिपनि बुझ्नुस कि सांसदहरु केवल सरकारको ताबेदारी गर्ने भजनमन्डली होइनन, नागरिकलाई सुसूचित गर्ने, उनीहरुको अपेक्षा र आवाजलाई उठाउने र सरकारलाइ खबरदारी गर्ने दायित्व बोकेका जनप्रतिनिधि हुन् ।