विराटनगर । केही समयदेखि शून्यमा झरेको कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेसँगै मोरङमा होली पर्वमा भिडभाड गर्न प्रशासनले रोक लगाएको छ ।
नजिक आइरहेको रङ्गहरुको पर्व होलीमा हुने भिडभाडले कोरोनाको संक्रमणलाई फेरि विस्तार गर्नसक्ने भन्दै पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय प्रशासनले सक्रियता देखाएको हो ।
यो वर्ष जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समितिले सबैमा आग्रह गरेको छ । समितिको मंगलबार बसेको बैठकले नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणको नयाँ लहर आएकोले होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय भएको प्रशासनले जनाएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन भिडभाड गरेर होली खेल्न रोक लगाइको हो ।
नेपालसँगको खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा संक्रमण फैलन थालेपछि सीमा नाकामा पनि कडाई थालिएको छ । कोरोनाका कारण संसारभर नै कडाई भइरहेको अवस्थामा सुरक्षा समितिले होली पर्व समुदायमा मनाउन रोक लगाएको हो ।
परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन प्रशासनले सबैमा अनुरोध गरेको छ । होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रमहरु गर्न रोक लगाइएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार सुरक्षा समितिले होलीमा कडाई गर्न लागेको हो ।
होलीलाई सुरक्षित र सङ्क्रमणरहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । कोरोना फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको अवस्थामा जबरजस्ती र इच्छाविपरीत लोला हान्ने, रङ्ग दल्ने तथा अन्य गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।
होलीलाई सुरक्षित बनाउन पोसाक र हतियारसहितका तथा सादा पोसाकका सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिनेछ । नियमविपरीत जाने जोकोहीलाई पनि छुट दिन नसकिने र तत्काल कानूनी कारबाहीको दायरामा ल्याइने एसपी खड्काले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।