प्रदेश १ मा लकडाउनको एक वर्ष…

प्रदेश १ मा कोभिड–१९ का संक्रमितमध्ये २९ हजार ९ सय ७६ जना निको भए भने ४ सय ६६ जनाको मृत्यु भयो

विराटनगर । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो । २०७७ चैत ११ गते लकडाउनको घोषणा भएको एक वर्ष पुगेको छ ।

नेपाल सरकारले २०७७ माघ १४ गते पहिलो पटक कोभिड–१९ विरूद्धको भ्याक्सिन कोभिसिल्ड प्राथमिकताका आधारमा लगाउन सुरू गरेकोमा करिब ३ लाखले यो खोप लगाएका छन् ।

प्रदेश १ सरकारले नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै कोभिड–१९ नियन्त्रणका लागि आवश्यक तयारी गरेको थियो । प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा २०७६ चैत ७ गते प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समिति गठन गरी कोरोना भाइरस नियन्त्रणका लागि प्रतिकार्य गर्दै आएको थियो ।

अहिलेसम्म प्रदेश १ मा २ लाख २८ हजार ५४० जनाको पीसीआर परीक्षण भएकोमा ३० हजार २९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक वर्षमा प्रदेश १ मा कोभिड–१९ सङ्क्रमण भएका २९ हजार ९ सय ७६ जना निको भएका छन् भने ३ सय २६ जना पुरूष र १ सय ४० जना महिला गरी ४ सय ६६ जनाको मृत्यु भएको छ ।

यो अवधिमा झापामा ४ हजार ७१७ जना, संक्रमित भएकोमा १२४ जनाको मृत्यु भएको छ । मोरङमा १३ हजार ११५ जना सङ्क्रमित भएकोमा १३२ जनाले ज्यान गुमाए । यस्तै सुनसरीमा ९ हजार ४० जना सङ्क्रमित भएकोमा १४५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । धनकुटामा २२१ जना सङ्क्रमित भएकोमा २०७ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । उता भोजपुरमा ९२ जना, खोटाङमा ९७ जना, उदयपुरमा ५ सय जना सङ्क्रमित भएकोमा ९ जनाको मृत्यु भयो ।

एक वर्षको अवधिमा सोलुखुम्बुमा ३७, सङ्खुवासभामा ३५० जना सङ्क्रमित भएकोमा एक जनाको मृत्यु भएको छ । तेहृथुममा १२४ जना सङ्क्रमित भएकोमा चार जनाको मृत्यु भएको छ भने इलाममा ४८३ जना सङ्क्रमित भएकोमा ७ जनाको मृत्यु भएको छ । पाँचथरमा १४८ जना सङ्क्रमित भएकोमा १ जनाको मृत्यु भएको छ भने ताप्लेजुङमा १ सय २१ जना सङ्क्रमित हुँदा २ जनाले ज्यान गुमाएका छन् । ओखलढुङ्गामा ४७ जना सङ्क्रमित भएर निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले २०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन गरेपछि हालसम्म मोरङमा ५३ हजार ९६५, झापामा ५३ हजार ७३३, सुनसरीमा ५१ हजार २१५, उदयपुरमा ११ हजार ३३०, इलाममा १९ हजार ९२३, धनकुटामा १० हजार ६७५, तेहृथुममा ८ हजार ५५१, भोजपुरमा १२ हजार १२९, पाँचथरमा १३ हजार ६२९, ताप्लेजुङमा १२ हजार ६३२, खोटाङमा १२ हजार ४४९, ओखलढुङ्गामा १८ हजार ५८५,सोलुखुम्बुमा ११ हजार ५४१ र सङ्खुवासभामा ८ हजार ९२३ जना गरी २ लाख ९८ हजार ५८३ जनाले खोप लिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । देशव्यापी रूपमा चैत ११ गतेदेखि लकडाउन भएपछि आधारभूत मानव अधिकार सङ्कुचित हुन पुगेको थियो । २०७७ साउन ४ गतेदेखि लकडाउन खुल्ला भएको थियो ।

बिहिबार, १२ चैत, २०७७, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर