विराटनगर । प्रदेश १ को सत्तारुढ दल एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक प्रदेशमा दलको बैठक भएको हो । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा सुरु भएको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी छन् । तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरु सहभागी भएका छन् ।
‘केन्द्रमा विधान विपरित मान्छे थप्ने, जथाभावी गर्ने भएपछि केन्द्रीय समिति बैठकमा सहभागी नभएका हौं’, माधव नेपाल समूहका प्रदेश १ इन्चार्ज भीम आचार्यले भने ‘तर, दलको बैठकमा त्यस्तो हुन्न । त्यसैले हामी जान्छौं ।’ दलको बैठक केन्द्रमा पनि बहिष्कार नगर्ने आचार्यले बताए ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता छ । आजको बैठकमा त्यसबारे छलफल हुने एमाले स्रोतको भनाइ छ ।
बैठकमा माओवादी सांसद टंक आङ्बुहाङ पनि सहभागी भएका छन् । ताप्लेजुङबाट निर्वाचित उनी केही समयअघि एमाले ओली समूहमा प्रवेश गरेका थिए । उनलाई ओली समूहले पार्टीको केन्द्रीय सदस्य बनाएको छ भने माओवादी केन्द्रले सांसदबाट पदमुक्त गर्न प्रष्टीकरण सोधेको छ ।