सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उप–महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक धरान १० का ३० वर्षीय बिक्रम चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ ।
चतराबाट बराहक्षेत्रतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४९७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका याख्खाको बिराटनगर अस्पतालमा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।