काठमाडौं । युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–२, भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।
मगरले करिब तीन महिनाअघि एक युवतीलाई जङ्गलमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिएर कुटपिट गरेका थिए। सोही घटनाको भिडियो उनले मंगलबार बेलुका साढे ८ बजे आफ्नो फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सार्वजनिक भएलगत्तै सक्रिय भएको इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनलाई मंगलबार राति १०:४० बजे आफ्नै घरबाट पक्राउ गरेको हो। उनको खानतलासी गर्दा घरबाट विभिन्न प्रतिबन्धित लागुऔषध समेत बरामद भएको छ।
प्रहरीका अनुसार उनको साथबाट प्रिगाबालिन १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकप २ ट्याब्लेट र नाइट्राजेपाम ५ ट्याब्लेट बरामद गरिएको छ।
यसैगरी, सोही घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२, बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।