लोड हुँदैछ...

मेनु

प्याब्सन चित्रकला प्रतियोगिता , पथरीको ग्रेटग्रेस र एभरेष्ट स्कुलले जिते उपाधि

प्याब्सन चित्रकला प्रतियोगिता , पथरीको ग्रेटग्रेस र एभरेष्ट स्कुलले जिते उपाधि

विराटनगर । प्याब्सन मोरङको आयोजनामा सम्पन्न जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि पथरीका दुई विद्यालयले हात पारेका छन् ।

सिनियरतर्फ पथरीको ग्रेटग्रेस स्कुल र जुनियरतर्फ एभरेष्ट सेकेन्डरी स्कुलले उपाधि जितेका हुन् ।
बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ पथरीको ग्रेटग्रेस स्कुलकी प्रसन्न तामाङ र जुनियरतर्फ पथरीकै एभरेष्ट स्कुलकी आभा केरुङ प्रथम भएका छन् ।

सिनियरतर्फको प्रतिस्पर्धामा इस्टर्न भ्यु बेलबारीकी एसिका भण्डारी द्वितीय र सरस्वती स्कुल मिक्लाजुङकी कञ्चन लिम्बू तृतीय भइन् । त्यस्तै, एभरेष्ट इङ्लिस स्कुल विराटनगरकी रोशनी ठाकुर र सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैंचाका आर्जन बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गरे ।

यसैगरी, जुनियरतर्फ जाते प्यारागन स्कुल लेटाङका दिक्षित मगर द्वितीय र ग्रेटग्रेस पथरीका अंकित राई तृतीय भए । एलेम्बर इङ्लिस स्कुल बेलबारीका शीर्षक राई र कुडोस विद्यासदन उर्लाबारीका अभिसन बोहराले सान्त्वना पुरस्कार जितेका छन् ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरी प्रमुख अतिथि रहेका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पुर्वअध्यक्ष टिकाराम पुरीले चित्रकला जीवनसँग गाँसिएको कला भएको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा मोरङ जिल्लाभरिका ८२ विभिन्न निजी विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन मोरङका सचिव देवी सिटौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।