लोड हुँदैछ...

मेनु

बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा

बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि हेमोफेलिया भएका व्यक्तिहरूको उपचारका लागि विनियोजित बजेटमा भारी कटौती गरेपछि बिरामी र तिनका अभिभावकहरू आन्दोलित भएका छन्।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशको अगुवाइमा सोमबार विराटनगरस्थित स्वास्थ्य मन्त्रालयको परिसरमा उनीहरूले धर्ना दिएका हुन्।

विगतका वर्षहरूमा १ करोड रुपैयाँ विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षका लागि सरकारले जम्मा ३० लाख रुपैयाँ मात्र छुट्याएपछि बिरामीहरू थप जोखिममा परेका छन्।

आन्दोलनको नेतृत्व गरिरहेका राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशका अध्यक्ष नवीन ढुंगेलका अनुसार कोशी प्रदेशमा मात्रै १५५ जना हेमोफेलिया भएका बिरामीहरू पहिचान भएका छन्। ‘विगतमा ९० जना बिरामी हुँदा १ करोड बजेटले पनि उपचार धान्न गाह्रो थियो, अहिले बिरामी बढेर १५५ पुग्दा बजेट घटाएर ३० लाखमा झारिएको छ, ढुंगेलले आक्रोश पोखे, ‘यो कुन तथ्य र आधारमा गरियो ? हामीले पटक–पटक मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदा पनि हाम्रो मागलाई बेवास्ता गरियो।’

हेमोफेलिया एक यस्तो गम्भीर अवस्था हो जसमा चोट लाग्दा रगत बग्न रोकिँदैन। यसका लागि प्रयोग गरिने औषधि (फ्याक्टर) अत्यन्तै महँगो हुने ढुंगेल बताउँछन्। ‘एउटा औषधिको मूल्य २० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्छ, जसले जम्मा ८ देखि १२ घण्टा मात्र काम गर्छ,’ उनले भने, ‘सरकारले निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था भए पनि बजेट अभाव देखाएर बिरामीलाई मृत्युको मुखमा पुर्‍याइँदैछ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।