लोड हुँदैछ...

मेनु

कटहरी सडकको दलदलमा भासियो ट्रक

कटहरी सडकको दलदलमा भासियो ट्रक

विराटनगर । मोरङको कटहरी–रंगेली हुलाकी सडक खण्ड यतिबेला सवारी चालकका लागि ‘पासो’ र स्थानीयका लागि ‘सास्ती’ बनेको छ । आइतबार रातिदेखि सडकको बीचैमा रहेको ठूलो दलदलमा मालवाहक ट्रक भासिएपछि चालकको बास सडकमै भएको छ भने सडक अवरुद्ध हुँदा सयौँ यात्रु मारमा परेका छन् ।

आइतबार राति १० बजे मकै लोड गरेर हिँडेको ना १ क ८३९३ नम्बरको ट्रक कटहरी–२ स्थित आदर्श नगरको बीच सडकमै भासिएको थियो । ट्रक निकालेर गन्तव्यमा पुग्ने सपना बोकेका चालक श्याम राउतले रातभर अनेक प्रयास गरे पनि ट्रक निकाल्न सकेनन् । “रातभर ट्रक कुरेर बसें, न जेसीबीले तानेर निस्कियो, न त अर्को ट्रकले नै,” उनले पीडा सुनाउँदै भने, “राज्यले कम्तीमा फसेको ठाउँमा केही ढुंगा–गिटी मात्र हालिदिएको भए हाम्रो यस्तो हविगत हुने थिएन । अहिले मेरो बास सडकमै भएको छ ।”

सोमबार दिउँसोसम्म पनि सोही ठाउँमा अर्को एउटा मालवाहक ट्रक र इँटा बोकेको ट्याक्टर समेत फसेपछि यो खण्ड पूर्णतः अस्तव्यस्त बनेको छ । वर्षौंदेखि सडकको दुरावस्था झेल्दै आएका स्थानीय र सवारी चालकहरू सोमबार आक्रोशित हुँदै सडक अवरुद्ध गरेरै विरोधमा उत्रिएका छन् ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने यो ५ किलोमिटर खण्ड विगत ६ वर्षदेखि अलपत्र छ । २०७६ सालमा ७६ करोड रुपैयाँमा श्रेष्ठ कन्स्ट्रक्सनले ठेक्का लिएको भए पनि ६ वर्षमा जम्मा २७ प्रतिशत मात्र काम गरेर अलपत्र छाडेको थियो । काममा चरम लापरबाही भएपछि सरकारले निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै ठेक्का रद्द गरेको ६ महिना बितिसक्दा पनि नयाँ प्रक्रिया सुरु नहुनुले थप सास्ती बढाएको स्थानीयको गुनासो छ ।

हुलाकी राजमार्ग निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले भने अबको केही दिनमा नयाँ ठेक्का प्रक्रिया सुरु हुने दाबी गरेका छन् । ‘‘अबको केही दिनभित्रै यो सडकको नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्दै छ,’’ उनले भने, ‘‘यस विषयमा मन्त्रीज्यूसँग पनि कुराकानी भइसकेको छ ।’’

तर, सरकारी आश्वासनका बीच सडकमा फसेका चालकहरू र धुलो–हिलोको सास्ती खेपिरहेका स्थानीय भने कहिले सडक बन्ने हो भन्ने अन्योलमै छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।