लोड हुँदैछ...

मेनु

झापामा सिटौला र शर्माबीच भेट, पार्टीको विवादबारे छलफल

झापामा सिटौला र शर्माबीच भेट, पार्टीको विवादबारे छलफल

विराटनगर । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद र विशेष महाधिवेशनपछिको ध्रुवीकरणका बीच उपसभापति विश्वप्रकाश शर्मा र प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाबीच झापामा भएको ‘वान टु वान’ भेटवार्ता भएको छ। भेटका क्रममा शर्माले संस्थापनइतर पक्षलाई एक ठाउँमा बसेर सात बुँदे प्रस्तावबारे स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

मंगलबार झापाको धुलाबारीस्थित भण्डारी निवासमा भएको भेटमा दुई नेताबीच करिब १५ देखि २० मिनेट छुट्टै कुराकानी भएको हो। उपसभापति शर्माका दिवंगत काका तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा याम (श्याम) भण्डारीप्रति समवेदना व्यक्त गर्न पुगेका सिटौलासँग शर्माले पार्टीको समसामयिक अवस्था, आन्तरिक एकता र विवाद समाधानका विषयमा छलफल गरेका थिए।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंका अनुसार भेटमा पार्टीभित्रको वर्तमान परिस्थितिलाई सकारात्मक ढंगले अगाडि बढाउने र निकास निकाल्ने विषयमा कुराकानी भएको थियो। शर्माले सिटौलालाई अन्य नेताहरूलाई पनि संयमित हुन र पार्टी एकताका लागि मिलाउने भूमिका खेल्न आग्रह गरेका थिए।

भेटका क्रममा शर्माले संस्थापन पक्षले अघि सारेको सात बुँदे सहमति प्रस्तावबारे संस्थापनइतर समूहको आधिकारिक धारणा अझै नआएको विषय उठाएका थिए। कांग्रेस स्रोतका अनुसार शर्माले सिटौलासँग, “हाम्रो धारणा सभापति गगन थापामार्फत आउँछ, तर तपाईंहरूको धारणा बाहिर ल्याउने व्यक्ति को हो ? सात बुँदे प्रस्ताव ठीक वा बेठीक भन्ने आधिकारिक आवाज कसको हो ?” भन्ने जिज्ञासा राखेका थिए।

उनले सभापति, उपसभापति र शीर्ष नेताहरूले सहमतिको प्रयासस्वरूप सात बुँदे प्रस्ताव अघि सारेको, वार्ता र संवादको प्रक्रिया जारी राखेको जानकारी पनि सिटौलालाई गराएका थिए। साथै संस्थापनइतर पक्षका नेताहरू एक ठाउँमा बसेर आफ्नो स्पष्ट निष्कर्ष सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए।

भेटमा सिटौलाले के जवाफ दिए भन्ने विषय सार्वजनिक भएको छैन। तर कांग्रेस नेताहरूका अनुसार पछिल्लो समय संवाद कमजोर बन्दै गएको अवस्थामा दुई नेताबीच प्रत्यक्ष छलफल हुनु आफैंमा सकारात्मक संकेत हो।

कांग्रेस झापाका सचिव हुमागाईंले उक्त भेटलाई ‘आइसब्रेक’ को संज्ञा दिएका छन्। उनका अनुसार लामो समयदेखि फरक धारमा रहेका नेताहरूबीच खुलेर संवाद हुनु पार्टी एकता र सहकार्यका लागि सुखद सुरुवात हो।

पार्टीभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवाद, क्रियाशील सदस्यता नवीकरणको विषय तथा नेतृत्वको वैधतामाथिको बहस चर्किरहेका बेला भएको यो भेटलाई कांग्रेसको राष्ट्रिय राजनीतिसँग जोडेर हेरिएको छ। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व स्थापित भएपछि सिटौलासहित संस्थापनइतर समूहका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

यही पृष्ठभूमिमा भएको विश्वप्रकाश–सिटौला संवादलाई कांग्रेसभित्र संवाद, सहमति र एकताको सम्भावना खोज्ने प्रयासका रूपमा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। झापामा भएको यो भेटले पार्टीभित्र बढ्दो कित्ताकाट अन्त्य गरी वार्ता र सहकार्यको नयाँ वातावरण बनाउन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।