विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी आवागमन प्रभावित भएको छ।
वर्षाका कारण हाटखोला–कटहरी खण्डको कच्ची सडक हिलाम्मे बनेपछि सोमबार तीनवटा लोडेड ट्रक खाल्डोमा फसेका हुन्।
ट्रक फसेपछि ट्राफिक प्रहरीले मालबाहक सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकेको छ भने फसेका सवारी निकाल्न मेसिन परिचालन गर्ने तयारी गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार बर्खाको समय र कच्ची सडकका कारण धेरै भार बोकेका ट्रकहरू फस्ने समस्या दोहोरिँदै आएको छ।
फसेका सवारीसाधन हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउने तयारी भइसकेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मोरङमा पर्ने ४४ किलोमिटर हुलाकी राजमार्गमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्मको करिब ६ किलोमिटर सडक सबैभन्दा अस्तव्यस्त अवस्थामा रहेको छ। २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का लिए पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो। त्यसयता उक्त सडक अलपत्र अवस्थामा छ।
योजना कार्यालयका प्रमुख पोखरेलले कटहरी खण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ र लागत इस्टिमेट स्वीकृत हुनेबित्तिकै एक साताभित्र नयाँ ठेक्का आह्वान गरिनेछ।
उनले यसअघिको ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले ठेक्का रद्दविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा खारेज भइसकेकाले नयाँ ठेक्का प्रक्रियामा अब कुनै कानुनी अवरोध नरहेको बताए। बर्खा लागेसँगै कटहरी खण्डमा हरेक वर्षजस्तै यस वर्ष पनि मालबाहक ट्रक फस्ने समस्या दोहोरिएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माणका लागि सरकारले २९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।