लोड हुँदैछ...

मेनु

नारा नै नाराले भरीएको सुन्दरहरैँचाको नीति तथा कार्यक्रम

नारा नै नाराले भरीएको सुन्दरहरैँचाको नीति तथा कार्यक्रम


विराटचोक । सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँले हिजो नगरपालिकाको १८ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। सामान्यतया सरकारी दस्तावेजहरू प्रशासनिक र औपचारिक मात्र हुने गर्छन्, तर सुन्दरहरैँचाको यस पटकको नीति तथा कार्यक्रम भने निकै सिर्जनशील र रोचक नाराहरूले भरिएको देखिएको छ। नगर प्रमुखले हरेक क्षेत्रको योजनालाई नगरवासीको जनजिब्रोमा झुण्डिने गरी आकर्षक नाराहरू मार्फत प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा सबैभन्दा बढी चर्चा न्याय सम्पादनको नाराले पाएको छ। ‘अदालतको तारेखले कपाल फुल्छ, सुन्दरहरैँचाको न्यायिक समितिमा कुरैकुरामा गाँठो खुल्छ’भन्दै नगर प्रमुखले झन्झटिलो अदालती प्रक्रियाको साटो स्थानीय न्यायिक समितिको सहजतालाई जोड दिएका छन् । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि निकै रोचक र आधुनिक नाराहरू समेटिएका छन्। नगरपालिकाको भौगोलिक सीमालाई जोड्दै ूपश्चिमको बुढी, पूर्वको किस्ती, सररर नगर अस्पतालमा केही छैन सास्ती भन्ने नारा मार्फत नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको भरोसा दिलाइएको छ भने प्रविधिलाई आत्मसात गर्दै डिजिटल दुनियाँको मास्टर, अस्पतालको एप्समै डाक्टर भन्ने कार्यक्रम अघि सारिएको छ। यसले नगरवासीले घरमै बसेर स्वास्थ्य परामर्श लिन सक्ने र अस्पतालका सेवाहरू एपमार्फत नै बुझ्न सक्ने आधुनिक युगको सङ्केत गरेको छ।

शिक्षा र विद्यार्थीको मनोविज्ञानलाई ध्यानमा राख्दै नगरपालिकालेूखुसी र सिकाइको संगम रमाइलो शुक्रबार कार्यक्रम ल्याएको छ। हप्ताको एक दिन विद्यार्थीले किताबको बोझबिना सिर्जनशील काम गरेर सिक्न पाउनेछन् भने शिक्षामा सबैको स्वामित्वका लागि सबैको जिम्मेवारी, शिक्षामा साझेदारी भन्ने नारा तय गरिएको छ। कृषि क्षेत्रमा किसानको समस्यालाई सम्बोधन गर्दै प्रविधिमा नगरको साथ, उन्नत बीउ, मल र प्रणाली किसानको हात र कृषिमा लगानी, खेतखेतमा पानी जस्ता नाराहरू ल्याइएको छ। उत्पादन बढाउन पारीको लाई व्यवस्थापन, बारीको लाई प्रोत्साहन भन्ने मौलिक नारा समेत समावेश गरिएको छ, जसले खेतीपातीलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

आर्थिक प्रशासन र कर प्रणालीमा पनि नगरपालिकाले नयाँ प्रयोग गरेको छ। धेरैलाई कर तिर्नु बोझ लाग्ने भए पनि सुन्दरहरैँचाले यसलाई नागरिकको इच्छासँग जोड्दै करलाई रहरमा बदल्ने नीति लिएको छ। साथै, मैले तिरेको कर मलाई नै उपहार, गरिबले रोकेन मेरो उपचार भन्ने नाराले नागरिकले तिरेको करबाट विपन्नले सेवा पाउने हुँदा कर तिर्नु गर्वको विषय भएको सन्देश दिएको छ। महिला र युवा सशक्तीकरणका लागि पनि सुन्दरहरैँचाका महिला रोजगारी र अवसरमा पहिला र युवाको जोस र जाँगर, समृद्ध सुन्दरहरैँचाको आधारू जस्ता उत्साहजनक नाराहरू अघि सारिएका छन्।

नगरपालिकाको भौतिक पूर्वाधार र सुशासनलाई सुदृढ बनाउन सुन्दरहरैँचा विकासको आधार, दिगो पूर्वाधारू र मुस्कान सहितको सेवा, सुन्दरहरैँचा नगरवासीको पेवाू जस्ता नाराहरूले नगरपालिकाको सेवा प्रवाहलाई छिटो, छरितो र मर्यादित बनाउने प्रतिबद्धता जाहेर गरेको छ। शासन हैन, अब विद्युतीय सुशासन भन्ने नाराले डिजिटल नगरपालिकाको अवधारणालाई प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।