काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगको टोली सोमबार मुद्दाको फाइलसहित विशेष अदालत पुगेको हो। मुद्दा दर्तासँगै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहित १६ व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीका अनुसार मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ।
उनका अनुसार प्रतिवादीमा १० जना सरकारी कर्मचारी, दुई जर्मन कम्पनी, ती कम्पनीसँग सम्बन्धित चार विदेशी नागरिक तथा दुई नेपाली प्रतिनिधि समावेश छन्।
राहदानी छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि अख्तियारले बयान लिएको थियो। तर, अन्तिम अभियोजनमा भने उनलाई प्रतिवादी बनाइएको छैन।
यसअघि राहदानी खरिद प्रक्रियामा करिब ६४ लाख थान विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो। अब उक्त मुद्दामाथि विशेष अदालतमा सुनुवाइ हुने भएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।