विराटनगर । नौ वर्षअघि घरव्यवहार चलाउन लिएको १ लाख ५० हजार रुपैयाँ ऋणले विराटनगर–१४ महतो टोलकी ५३ वर्षीया शान्तिदेवी महतोको अन्ततः ज्यान लिएको छ । ऋणबापतको सावा–ब्याज पटक–पटक गरी तीन गुणा बढी तिरिसक्दा पनि मिटरब्याजीले जग्गा फिर्ता नगरी उल्टै उठिबास लगाउने धम्की दिएपछि उनले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर देहत्याग गरेकी हुन् ।
मिटरब्याजीको प्रताडनाकै कारण शान्तिदेवीले आत्महत्या गर्नुपरेको भन्दै न्यायका लागि आफन्त र छिमेकीहरू सोमबार जिल्ला प्रशासन कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका छन् । उनीहरूले मिटरब्याजीलाई कडा कारबाही र हडपिएको जग्गा फिर्ताको माग राख्दै नाराबाजी समेत गरे ।
मृतकका श्रीमान् भोला महतोका अनुसार शान्तिदेवीले २०७२ सालतिर स्थानीय नारायण महतोसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋण दिने सर्तमा नारायणले शान्तिदेवीको नाममा रहेको एकमात्र जायजेथा १० धुर जग्गा आफ्नो नाममा पास गराएका थिए । “हामीले दुःखजिलो गरेर पटक–पटक गरी सावा र ब्याजसहित ४ लाख ५० हजार रुपैयाँ तिरिसक्यौँ,” भोलाले गहभरि आँसु पार्दै भने, “तर, पैसा बुझिसक्दा पनि नारायणले जग्गा फिर्ता गर्न मानेनन्, उल्टै हामीविरुद्ध अदालतमा मुद्दा हालेर दुःख दिए ।”
पीडित परिवारका अनुसार शनिबार मात्रै नारायण महतो र उनका छोरा अमनकुमार गुप्ता घरमै पुगेर जग्गा खाली गर्न भन्दै चरम मानसिक यातना र धम्की दिएका थिए । मिटरब्याजीको त्यही धम्कीले विक्षिप्त बनेकी शान्तिदेवीले भोलिपल्टै आत्मघाती बाटो रोजिन् । “शनिबार उनीहरूले आएर मरे मर तर जग्गा खाली गर् भन्दै धम्क्याए, भोलिपल्टै श्रीमतीले संसार छाडिन्,” भोलाले थपे, “उनीहरूले त्यसरी टर्चर नदिएको भए मेरो घर उजाड हुने थिएन ।”
महतो परिवारको सहाराका रूपमा रहेको त्यही १० धुर जग्गा पनि मिटरब्याजीले कब्जा गरेपछि अहिले ४ छोराछोरीको बिचल्ली भएको छ । यसैबीच, पीडित परिवारले नारायण र उनका छोरा अमन विरुद्ध इलाका प्रहरी कार्यालय रानीमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा किटानी जाहेरी दर्ता गरेका छन् ।
जाहेरी परेलगत्तै प्रहरीले बाबु–छोरालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिइन् । “हामीले आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ,” एसपी कटुवालले भने, “घटनाको गहिराइमा पुगेर दोषीमाथि कानुनी कारबाही गरिनेछ ।”


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।