विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

विराटनगर । अवद्यिमा १ सय २० दिनसम्म निःशुल्क खाना खुवाउने टीमले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो लत्ताकपडा तथा जुत्ता वितरण गरेका छन् ।

टीमले बिहीबार विराटनगर–१२ स्थित जनता आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका १ सय ४४ जना छात्रछात्राहरुलाई लत्ताकपडा तथा जुत्ता वितरण गरेका हुन् । विराटनगर महानगरपालिकाको निति कार्यक्रमले नछोएको यस विद्यालयमा युवा अभियन्ता ओसिम आलम नेतृत्वको युवाहरुले विभिन्न दाताहरुको सहयोगमा ती सामाग्रीहरु वितरण गरेका हुन् । टीमले यसअघि पनि विराटनगर–१० स्थित मानव सेवा आश्रमका १ सय जना र सडकपेटीमा जीवन धान्न बाध्य ३ सय गरिब तथा असहायलाई न्यानो लत्ताकपडा वितरण गरेका थिए । जाडोयामसँगै सुरु भएको सो अभियान अन्तर्गतका युवाहरुले हालसम्म ३ हजार ५ सयभन्दा बढीलाई न्यानो लत्ताकपडा वितरण गरिसकेका छन् । आगामी दिनहरुमा विराटनगरका अन्य विद्यालयहरुमा पनि सो अभियानलाई विस्तार गर्ने योजना रहेको युवा अभियन्ता ओसिम आलमले बताउनुभयो ।

वि.सं २०१८ सालमा स्थापना भएको यस विद्यालयमा ८० प्रतिशत श्रृषिदेव समुदायका बालबालिकाहरु पढ्न आउने गरेका छन् । बाँकी २० प्रतिशत राजवंशी, महत्तो र यादव समुदायका बालबालिकाहरु रहेका छन् । यसअघि विद्यालयमा लायन्स क्लबले पनि विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो । यद्यपि जाडोयाम सुरु भएसँगै विद्यालयले विभिन्न संघसंस्थाहरुसँग न्यानो लत्ताकपडाका लागी आह्वान गर्दै आएपनि कसैको ध्यान पुग्न सकेको थिएन । तर बिहीबार ओसिम आलम नेतृत्वका युवाहरुले विद्यालयमा न्यानो लत्ताकपडा, टोपी र जुत्ता वितरण गरेपछि हाल छात्रछात्राहरु खुशी देखिएका विद्यालयका प्रधानाध्यापक नरहरि कोईरालाले जानकारी दिनुभयो ।

६ दशक पहिले स्थापना भएको यस विद्यालयमा हाल विद्यार्थीहरुको उपस्थिति र चाप पनि तुलनात्मक रुपमा बढ्दै गएको छ । विद्यार्थीहरु कक्षाकोठा बाटै भाग्ने तथा पढ्नै नआउने प्रवृत्तिको पनि अन्त्य हुँदै गएको छ । विद्यालयमा पढ्ने वातावरणको सिर्जना भएसँगै पठनपाठन तर्फ विद्यार्थीहरुको आकर्षण चाप बढ्दो छ । विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि आफ्नो पठनपाठनको प्रणालीमा सुधार ल्याएसँगै विद्यार्थीहरु नयाँ भर्ना हुने क्रमले पनि गति लिएको विद्यालयकी शिक्षिका सावित्रा घिमिरेले बताउनुभयो ।

६ दशक पहिले स्थापना भएको यो विद्यालय सुधार उन्मुख भएपनि समुचित विकास र प्रगतिको मामिलामा निकै पिछडिएको छ । प्रदेश नं. १ को राजधानी भित्रकै विद्यालय भएपनि यसले दीर्घकालीन विकासको अनुहार देख्न पाएको छैन् । बर्षायाममा हरेक बर्ष डुबान पर्ने यो विद्यालयको विकासमा महानगरले ध्यान पुर्‍याउनु अत्यन्तै आवश्यक देखिन्छ ।

 

बिहिबार, १६ पुष, २०७७, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर