लोड हुँदैछ...

मेनु

चिया अबरोध हटाउन सिंहदरबारमा उद्योगीको गुहार

चिया अबरोध हटाउन सिंहदरबारमा उद्योगीको गुहार

विराटनगर । भारतीय पक्षले लागू गरेको नयाँ परीक्षण प्रणालीका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि पूर्वका चिया उद्योगी तथा किसान गुहार माग्दै सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुसँग भेट गर्न समय नपाएका उद्योगी किसानले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयमा पुगेर सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सूर्योदय अर्थोडक्स चिया उत्पादक संघ तथा सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको नेतृत्वमा पुगेका उद्योगीहरूसँग इलाम–२ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ पनि सहभागी थिए। उद्योगीहरूले सचिवमार्फत प्रधानमन्त्री बालेन शाहलाई समेत ज्ञापनपत्र बुझाउँदै भारतीय चिया बोर्डले लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया निर्यातमा गम्भीर असर परेको बताएका छन्।

उद्योगीहरूका अनुसार प्रत्येक खेपको चियाको नमुना अनिवार्य रूपमा संकलन गरी प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था, भारतीय चिया बोर्डको पोर्टलमा दर्ता, परीक्षण शुल्क र रिपोर्ट नआउँदासम्म बिक्री तथा वितरण गर्न नपाइने व्यवस्थाले निर्यात प्रक्रिया अवरुद्ध बनेको छ। दुई साताभित्र आउने भनिएको परीक्षण प्रतिवेदन महिनौंसम्म नआउँदा व्यवसायी थप समस्यामा परेका छन्।

संघका अनुसार हाल करिब तीन लाख किलोग्राम नेपाली चिया कोलकातामा रोकिएको छ भने थप १० लाख किलोग्राम तयारी चिया नेपालका विभिन्न गोदाममा थन्किएको छ। परीक्षण शुल्क, गोदाम खर्च, ढुवानी अवरोध, ट्रक पार्किङ तथा भण्डारण खर्च बढ्दा सञ्चालन लागत उल्लेखनीय रूपमा बढेको र यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूले समस्या समाधानका लागि चार मुख्य माग अघि सारेका छन्। उनीहरूले भारतीय सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक संवाद, नेपाल–भारतबीच चिया व्यापारसम्बन्धी स्थायी द्विपक्षीय संयन्त्र स्थापना, दुवै देशका प्रयोगशालाको प्रतिवेदनलाई पारस्परिक मान्यता दिने व्यवस्था तथा चिया किसान र उद्योगीको हित संरक्षणका लागि विशेष नीतिगत सहयोगको माग गरेका छन्।

भारतीय सीमामा परीक्षणमा असफल घोषित भएर फर्काइने चिया पुनः व्यवस्थापन गर्नसमेत कठिन भइरहेको उद्योगीहरूको भनाइ छ। यसले हजारौं किसान, मजदुर र उद्योगसँग जोडिएका व्यक्तिको रोजीरोटीमाथि असर पारिरहेको उनीहरूले बताएका छन्।

उद्योगीहरूसँगै सिंहदरबार पुगेका सांसद सुहाङ नेम्वाङले सरकारी निकायबाट समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको जानकारी प्राप्त भएको बताए। उनले नेपाली चियाको उत्पादन, प्रवर्द्धन र निर्यातसँग सम्बन्धित कानुनी तथा नीतिगत जटिलता तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको र चाँडै सकारात्मक परिणाम आउने अपेक्षा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।