विराटनगर भन्सारको राजश्व लक्ष्यभन्दा कम

विराटनगर । एकीकृत भन्सार जाँच चौकी रानी, विराटनगरले चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको अवधिमा कूल ७ अर्ब ९३ करोड ३० लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

साउनदेखि असोजसम्मको अवधिमा कार्यालयले १० अर्ब १ करोड १८ लाख ६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । संकलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको भन्सार कार्यालयले जनाएको छ । गएको वर्षमा यो अवधिमा कूल ८ अर्ब ९९ करोड ३८ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सारले गत वर्षभन्दा १ अर्ब ६ करोड ७ लाख ५८ हजार कम राजश्ज संकलन गरेको हो ।

अहिले संकलन गरेको राजश्व चालु आर्थिक वर्षको निर्धारित लक्ष्यभन्दा २ अर्ब ७ करोड ८७ लाख ६४ हजार रुपैयाँले कम हो । भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा भन्सार महसुल आयाततर्फ ३ अर्ब १७ करोड २ लाख ९२ हजार, मूल्य अभिवृद्धि कर ३ अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क ४६ करोड ३७ लाख ८२ हजार छ । यस्तै भन्सार महसुल निर्याततर्फ ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क २७ करोड ६३ लाख, भन्सारको अन्य आय ९४ लाख ३६ हजार र पूर्वाधार कर १८ करोड १४ लाख ४० हजार रहेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको ३ महिनाको सुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेकोमा भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोजमा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ ।

शनिबार, २२ कार्तिक, २०७७, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर