विकट क्षेत्रमा सौर्यबत्ती जडान

इलाम । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्याेदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्याेदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो ।

सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी खुशी भएका छन् । नगरप्रमुख रणबहादुर राईले विकट मानिएको सो क्षेत्रमा बत्ती जडान भएपछि आफूलाई समेत खुशी मिलेको बताउनुभयो ।

अन्धकार गाउँमा हाल उज्यालोको प्रवेश भएको छ । गाउँ नै झिलीमिलीमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका हुन् । विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाढा भएकाले त्यस ठाउँमा केन्द्रीय प्रसारणको विद्युत् विस्तार हुनसकेको थिएन । विद्युत् विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए ।

बत्ती नहुँदा इन्टरनेटसमेत नभएका कारण सो क्षेत्रका बासिन्दाले समस्या भोग्दै आएका थिए । मोबाइल भएपनि चार्ज गर्न नपाएपछि चलाउन नपाएको सो क्षेत्रका बासिन्दाको भनाइ छ । अब भने मोबाइल चलाउन पाइने भन्दै सो क्षेत्रका युवायुवतीसमेत खुशी भएका छन् । नगरपालिकाले समेत सो क्षेत्रका बासिन्दाको दैनिकको दुखेसो र गुनासो बढेपछि सौर्यबत्ती जडान गरेको हो ।

बुधबार, २१ असोज, २०७७, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर