बेलबारी र पथरीमा भदौ ७ गतेसम्म लकडाउन

बेलबारी । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मोरङको पथरी शनिश्चरे र बेलबारी नगरपालिकामा भदौ ७ गतेसम्म लकडाउन लम्ब्याइएको छ ।

तीजको बेला भिडभाड र जमघट बढी भएर कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै बेलबारी नगरपालिकाले लकडाउनको अवधि ७ दिनलाई थपेको हो ।

कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको बेलाबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुलीले जानकारी दिनुभयो । कोरोना रोकथाम सर्वदलीय उच्चस्तरीय नगर समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्ययाउने निर्णय गरेको हो ।

लकडाउनका बेला बैंकहरु भने दिनको ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । अन्य सबै पसल व्यवसाय बन्द रहनेछन् । कोरोना संक्रमणको जोखिम समुदायमै फैलने सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले गत साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको थियो ।

उता मोरङको पथरी शनिश्चरे नगरपालिकाले पनि कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भइनसकेको ठहर गर्दै नगरमा साउन २३ गते रातिदेखि गरिएको लकडाउन भदौ ७ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । पथरी शनिश्चरे नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आइतबारको बैठकले त्यस्तो निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

अन्य छिमेकी पालिकाहरुले समेत लकडाउन बढाएपछि कोरोना संक्रमणबाट जोगिन लकडाउनको अवधि बढाउन सहमति कायम भएको हो । नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खुला राख्ने अघिल्लो निर्णयलाई यथावत गरेको छ ।

अत्यावश्यक कामका लागि बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ । निश्चित समयावधिमा खुला गर्ने भनिएका बाहेकका अन्य बजार, पसल तथा अन्य कार्यालय भनें पूर्णरुपमा बन्द रहने छन् ।

 

आइतबार, ३२ साउन, २०७७, दिउँसोको ०३:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर