विराटनगर । बिहीबार कोरोना पोजिटिभ भेटिएको कटहरी गाउँपलिका वडा नं. १ को उच्च जोखिममा रहेको क्षेत्रलाई निर्मलीकरण गरिएको छ ।
स्थानीय युवाहरुको क्लब ‘यङ हर्ट ग्रुप’ ले संक्रमित भेटिएको घर वरिपरिको क्षेत्रलाई शनिबार निर्मलीकरण गरेका हुन । कोरोना संक्रमणलाई थप फैलिन नदिन वडा नं. १ को उच्च जोखिममा रहेको करिब १ हजार घरधुरीलाई निर्मलीकरण गरिएको क्लबका अध्यक्ष मुन्ना राजवंशीले बताए ।
बिहीबार कटहरी गाउँपालिकामा २ महिला र १ पुरुषसहित जम्मा ३ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमध्ये कटहरी वडा नं. १ मा कोरोना पोजिटिभ भेटिएकी एक महिला विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको ईर्मेजेन्सी वार्डमा कार्यरत स्टाफ नर्स हुन । उनको अहिले हस्पिटलकै आईशोलेसनमा उपचार भईरहेको छ ।