सलहको नेपाल पिडा

 रामबाबु सुबेदी

सलह हु सलह। म सलह किरा। म फट्याङ्ग्रा जातको हो। ए होइन म त किरा हु, जात त हुदैन मेरो तर के गर्नु नेपाल छिर्न साथ “जात” सोध्छन र नेपाल आउदा केहि अध्य्यन गरेर आएका छौ।

हुनत म हेर्दा फट्याङ्ग्रा जस्तो भएपनी म फट्याङ्ग्रा भन्दा डरलाग्दोछु। म कहिले एक्लै यात्रा गर्दिन। हामी सबै साथ साथ उडछौ। मेरो झुन्ड वा भनौ समूह गजबको छ। खबरदार! कसैले म एक्लै छु र केही गर्न सक्दिन भन्ने नसोच्नु होला। मलाई कम आकलन गर्ने हरुलाई म ठूलो चुनौती हु। म एक्लो लाई हेर्दा सानो छु तर हामी समूह मिलेर तपाईहरुको ठुलो बाली नाली नाश गर्न सक्ने दम्भ छ्। हामी कतै देखियौ भने त्यो ठाउको कृषि उब्जनीमा ठूलो मार पर्नेछ। ठूलो अन्नबाली नाश हुने प्रष्ट ईतिहास बोकेका chhau ।

“सलह” सुन्दै आनन्द आउने नाम छ हाम्रो। सललल बगि आउने चिसो हावा झै सररर उडि हामी हिडछौ। हामी आकाशमा कैयौ माईल उडेर यात्र गर्छौ। हामी लाखौको संख्यामा एक स्थान बाट अर्को स्थान जान सक्छौ। हामी एक देश बाट अर्को देश जान सक्छौ। तपाईं हरुलाई लाग्यो होला भिसा हान्नु पर्छ होला भनी?  सुन्दा अचम्म लाग्ला हामीलाई बिश्वको सबै देशमा उड्न भिसा लाग्दैन। हामी स्वतन्त्र उडछौ। घण्टौ उड्छौ। हामी उड्ने भनेको हावाको बेगले निर्धारण गर्छ। हावाको बिरुद्धमा उड्न हामिलाई गाह्रो हुन्छ। हामी कति किलोमिटर उड्न सक्छौ भन्ने लाग्यो होला हैन?
उत्तर सजिलो छ निरन्तर लाखौ माईल सम्म।

हामी अफ्रीकाबाट उडदै नेपाल आएका हौ। लाखौको संख्यामा फुरफुर गर्दै बुद्धको देश नेपाल आयौ।  यहि बिचमा धेरै देश घुमियो अत्यन्त आनन्द आयो। मेरो साथिहरु सबै सन्तुष्ट र उत्साहित हुँदै दुनिया शयर गर्यौ। ईरान, पाकिस्तान, भारत हुँदै अहिले नेपाली आकाशमा छौ। नेपाली माटोमो उब्जनी भएको मकै, साग सब्जी,  फलफुल, धान आदि अन्नबाली अन्य देशमा भन्दा स्वादिष्ट र मनमोहक पायौ।

तर, यतिका देश घुम्दा पनि नलागेको डर नेपाल छिरेपछी लाग्यो। हामीलाई धेरैले भनेका थिए नेपाल जानू “अतिथी देव भव:” को अर्थ थाहा हुन्छ भनेर तर यहाँ अवस्था फरक रहेछ। हामिलाई भारतिय सिमाबाट छिर्न साथ पहिला भन्सारमा रोकियो र अनुगमन गरे सशस्त्रले।  हामी नेपालको त गजबको सुरक्षाबल रहेछ आकाशमा पनि कडा सुरक्षा रहेछ अब छिर्न नपाईने भैयो भनेर अनेकौ कारुणिक भावना जाहेर गर्यौ तर सुन्ने कोहि भएन। त्यहा हामिलाई एयर होल्ड गरियो करिब ३ घण्टा। एकजना भन्सारका कर्मचारीले भने ” नेपाल को हवाई क्षेत्र प्रयोग गरेका छौ तिमिहरुले लेन्डिङ्ग पाउन कहाँ सजिलो छ र? एयर ट्राफिक भएकोछ।”

खिस्रीक्क पर्दै हाम्रो बिज्ञ एवम प्रबक्ता सलहले त्यही एउटा कर्मचारी सङ्ग करिब एक घन्टा छलफल गरेर जुक्ती पुर्याए। निर्क्योल निकाले र केही घुस दिने भए प्रवेस गर्न पाईने सन्देश ल्याए। पैसा त थिएन हामी सङ्ग तर भर्खरै मात्र हामीलाई समाएर ल्याउनेलाई प्रती केजि २० रुपैयाले खरिद गर्ने सुचना जारी गरेको एफ एममा  भनेको सुनेका थियौ।

सबै साथिहरुमाझ आकस्मिक बैठक बसेर हाम्रो कमान्डर सलहले कमान्ड दिए ” साथिहरु हो हामी यति टाढा बाट हिमाली देश हेर्न आयौ तर यहाँ प्रवेश पाउन निकै कठिन रहेछ त्यसैले हामी मध्य केहिले आफ्नो यो झुन्ड को यात्राका लागि बलिदान दिनुपर्ने भयो। अनि प्रवेश गर्न पाउने भयौ” उनले फेरि थपे “स्वतन्त्र मृत्यु स्विकार गरि शाहदत प्राप्त गर्ने अवसर छ, बलिदान गर्नु।”

त्यसपछी कैयौ हाम्रो साथिहरु स्वयम् आहुती दिए। पाँच केजि जतिको संख्यामा शाहदत प्राप्त गरे। हामिले कर्मचारिलाई बुझाएपछी उडान गर्न अनुमती दिइयो। हामी पश्चिम् रोल्पा पुग्यौ। त्यहाको एक गाउको बाली खान ब्यस्त भएका थियौ। त्याहाको वडाध्यक्ष्को आवाज आयो ” यो हाम्रो मल्लको अन्नबाली सखाप पार्ने तिमिहरु को हौ? ”
“हामी सलह। अफ्रीकाबाट आएका।” मैले उत्तर दिए।
“ए काला जातिपो ?” कडकिएर उताबाट आवाज आयो
नरम भएर मैले भने “फट्याङ्ग्रा जात का हौ हजुर”
” ए तिमिहरु तल्लो जातको हौ अब तिमिहरुलाई छाडदैनौ” भन्ने प्रतिउत्तर आयो।

हामी अन्नबाली खादै गर्दा चारतिर बाट पासो थापी हाम्रो धेरै साथिको चोला फेरियो, धेरै घाईते भए र कोहि भेरी नदिमा हामफालेर ज्यान जोगाए। यो सलह सम्हार हुने सम्झिएर हामी त्यहाबाट मुटु कमाउदै उड्यौ। हामी झुन्डमा धेरै संख्या भएपनी हजारौ साथिहरु मरे र मारिए। हाम्रो परिवरको झुन्ड सानो हुँदै जाँदै थियो।

अझ केहिले हामिलाई समाएर टिकटकमा भिडियो बनाए। नाचेको, गाएको, ड्रम बजाएको, अन्न खाएको आदि इत्यादी भिडियो बनाएर मोडल जस्तो बनाईदिए। नेपालमा “अतिथी देव भव:” को सार त्यही मात्र पायौ। अन्य देशमा नेपाल जस्तो टिकटक चलाएको भए हामी अझ राम्रो कपडा लाएर, श्रीङ्गार गरेर, कोभीड १९ को समयमा मास्क लाएर आउने थियौ। सम्झिदा पनि मन फुरुङ्ग लाग्ने सेलिब्रेटी बनेकोमा।

तर, के गर्नु जालमा समाएर हाम्रा साथिहरुलाई कतिले भुटी खाने , कुखुरालाई दाना बनाउने, मल बनाउने आदि गरेर हाम्रो झुन्ड केही हजारौ मा मात्र सिमित भयो।
हामी धेरै कृषकको अन्नबाली सखाप पारेकाले पाप पखाल्न डराउदै पशुपतिनाथको दर्शन गर्न काठमान्डौ लाग्यौ। बिचमा आकाशबाणी नेपाल एफएममा डरलाग्दो समचार आयो।

नेपालका कृषि मन्त्रीले मिडियामा भनेछन ” सलह किरा लाई मार्ने मेटालिका भन्ने सङ्गितको धुनले तिनिहरुलाई ठुला ठुला स्पिकर अन्नबालिमा राखेर कक्रक्क पारिदिन्छु।” अहो! कति डरलाग्दो धारणा रहेछ। यत्रो यात्रामा कसैले केही गर्न सकेका थिएनन तर नेपालको मन्त्री कडा रहेछन। अन्धकार छायो चारैतिर र अत्यन्त त्रास लागेर आयो। सबै साथिहरु डराए अनि पुन: देश फर्कने निचोड निकाल्यौ।

त्यहाबाट हामी भारतिय भुमी हुँदै फर्कन लागेको थियौ। भारत पुग्दा सबै भारतिय मिडियाका क्यामेरा आकशमा हामिलाई देखाउदै थिए। प्रमुख समाचारको बिषय बनेको रहेछ। एकजनाको टिभिमा टासिएर के रहेछ भनी हेरेको ” देखिए ये आकासमे नेपाल ने सिमा सुरक्षाके लिए एयर फोर्स भेजा है भारतिय सरजमिन पर हमला कर्ने के लिए।” यो उतप्रेरक समचारले हामी भारतमा सुरक्षित छैनौ भन्ने लाग्यो। भारतिय सेनाले हवाई फायर गरे। धेरै साथिहरु हताहत भए। धेरैले ज्यान गुमाए। अचम्मित पर्यौ त्यही मार्ग बाट आउदा केही रोक टोक थिएन तर अहिले नेपालबाट फर्किदा छिन्नभिन्न हुनपर्यो। अझ हामिलाई “चाईनिज सलह” भनेर अफवह फैलाईएको रहेछ भारतमा। प्राण जोगाउन हम्मे हम्मे भयो। अहिले हामी केही मात्र बाचेकाछौ।

सबै साथिहरु मिलि संकल्प गर्यौ नेपालमा अब भविष्यमा कहिले आउदैनौ भनेर। नेपाल को त्रासले मानसपटलमा गहिरो असर गरेकोछ। कसो ज्यान बाच्यो। अझ मेटालिकाको धुन बजाएको भए हामी सबै कक्रक्क पर्ने थियौ होला। त्यो धुन बजाउनु अघि भाग्यले नेपाल छाडियो।

मङ्गलबार, २३ असार, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर