गिरिजालाई सम्झदै नेपाली कांग्रेस

विराटनगर । नेपाली कांगे्रस सप्तरी जिल्ला कार्यसमितिले नेपालका पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती मनाएको छ ।

समितिले बिहीबार राजविराज–३ स्थित शाह धर्मशालामा एक कार्यक्रमको आयोजना गरि स्वर्गीय कोईरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको जन्मजयन्ती मनाएको हो । कार्यक्रममा स्वर्गीय गिरिजा प्रसाद कोईरालाको व्यक्तित्व, विचार र नेपालको राजनैतिक परिवर्तनमा उहाँले खेल्नुभएका भूमिका बारे चर्चा गरिएको थियो ।

वि.सं. १९८१ मा पिता स्व. कृष्णप्रसाद कोईराला र माता दिव्या कोईरालाका कान्छा छोराका रुपमा जन्मिनुभएका उहाँ नेपाली राजनितिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधार रहनुभएको पुर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले बताउनुभयो । १० वर्षे जनयुद्धकालमा गिरिजाप्रसाद कोइरालाले तत्कालिन नेकपा माओवादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेल्नुभएको नेपाली कांगे्रसका युवा नेता सलीम अन्सारीले जिकिर गर्नुभयो । सोही अवसरमा स्वर्गीय कोईरालालाई स्मरण गर्दै युवा नेता अन्सारीले जि.पी. फाउन्डेशनका तर्फबाट सप्तरी जिल्लाका बाढीपिडित जनताको व्यवस्थापनका लागी नगद रु. २५ हजार सहयोग समेत गर्नुभयो ।

नेपालको राजनैतिक परिवर्तनका सुत्रधार समेत रहनुभएका कोईराला तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनितिमा अवतरण गराएर ५ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । माओवादीलाई हिंसाको राजनीति अन्त्य गरी शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माणमा अह्म भुमिका निवार्ह गर्नुभएका उहाँको २०६६ साल चैत्र ७ गते ८७ बर्षको उमेरमा निधन भएको थियो ।

कार्यक्रममा भने नेपाली कांगे्रस क्षेत्र नं. १ का सभापति बद्रीनारायण महात्मा, जिल्ला सदस्य रामदेव शाह, नगर सभापति सम्भुलाल देव, महासमिति सदस्य रामुप्रसाद यादव, नेपाल विद्यार्थी संघका सप्तरी जिल्ला सचिव रामानन्द देव र महासमिति सदस्य ईरसाद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, १९ असार, २०७७, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर