लोड हुँदैछ...

मेनु

जैविक विविधता रहे जीवन स्वास्थ

जैविक विविधता रहे जीवन स्वास्थ

यस वर्ष जून ५ तारिखमा मनाइने विश्व वातावरण दिवसको नारा स्वास्थ्य जीवनका लागि जैविक विविधता निर्धारण गरिएको छ । आज जून ५ ताखिका दिन विश्वभरि वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७२ को स्टकहोममा भएको संयुक्त राष्ट्रसंघको महासभाबाट वातावरण दिवस मनाउने निर्णय भएको हो । हाल सम्म झन् झन् उत्साहका साथ यो दिवस मनाउँदै आइएको छ । जैविक वस्तुहरुको सङ्ख्या, किसिम, वंशाणु, पारिस्थितिक प्रणालीको समष्टिगत रुपलाई जैविक विविधता भनिन्छ । समष्टिगत रुपमा जैविक विविधताले पृथ्वीमा रहेका जीवित सम्पदाको कुल सङ्ख्या एवम तिनको भिन्नतालाई जनाउँछ ।

पृथ्वी सम्पूर्ण सजीवहरुको साझा वासस्थान हो । सजीवहरुले आफू बाँच्नका लागि चाहिने सम्पूर्ण वस्तुहरु जस्तैः हावा, पानी, खाद्यपदार्थ आदि पृथ्वी (वातावरण) बाट प्राप्त गर्दछन् । जैविक विविधतालाई मुख्यतया तीन भागमा बाढ्न सकिन्छ ।

पहिलो हो: प्रजाति विविधता । पृथ्वीमा पाइने सम्पूर्ण सजीवहरुबीच कुनै न कुनै भिन्नता रहेको हुन्छ । एक प्रजातिका वनस्पति वा जन्तु अर्कोभन्दा भिन्न रहेका हुन्छन् । बाहिरी रुपमा हेर्दा कतिपय गुणहरु उस्तै लागे पनि हरेक प्रजातिमा केही न केही फरकपना हुन्छ । प्रजाति प्रजातिबिच हुने फरकपना वा भिन्नतालाई प्रजाति विविधता हो ।

दोश्रो हो : वंशानुगत विविधता । प्रत्येक जीवमा पैतृक गुणहरु तिनीहरुका बाबु आमाबाट सरेर आएका हुन्छन् । सजीवमा आमा बाबुबाट नयां सन्ततिमा पैतृक गुण सर्ने रासायनिक एकाइलाई वंशाणु भनिन्छ । प्रजाति भित्रका सम्पूर्ण वंशाणुहरुको समुह, किसिम तथा फरकपनालाई वंशानुगत विविधता भनिन्छ । वंशानुगत विविधताले निश्चित प्रजाति भित्रको भिन्नतालाई बुझाउँछ ।

जैविक विविधताको तेस्रो रुप वा प्रकार भनेको पारिस्थितिक प्रणाली विविधता हो । सजीव, निर्जीव तथा भौतिक वातावरणबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । यही सम्बन्धले गर्दा कुनै पनि स्थानमा निश्चित प्रकारको पारिस्थितिक प्रणालीको निर्माण हुन्छ । पृथ्वीमा जलीय पारिस्थितिक प्रणाली र स्थलीय पारिस्थितिक प्रणाली गरी मुख्यतया दुई प्रकारका प्रणालीहरु हुन्छन् । जलीय पारिस्थितिक प्रणालीमा समुद्र, नदिनाला, खोला, ताल, पोखरी र सिमसार पर्दछन् भने स्थलीय पारिस्थितिक प्रणालीमा पहाड,उपत्यका, तराई, मरुभूमि आदि पर्दछन् । भु–बनोट र हावापानीको हिसाबले यी प्रणालीहरुमा पनि विविधता पाइन्छ । पारिस्थितिक प्रणालीमा पाइने भिन्नतालाई पारिस्थितिक प्रणाली विविधिता भनिन्छ ।

हाम्रो पृथ्वीमा पचास लाखभन्दा बढी प्रजातिका वनस्पतिहरु, पशुपक्षीहरु र सूक्ष्म जीवहरु पाइने अनुमान गरिएको छ तर हालसम्म करिब सत्र लाखदेखि अठार लाखसम्मका प्रजातिहरु मात्र पत्ता लागेका छन् । प्रत्येक प्रजातिहरु विशेष किसिमको वातावरणमा मात्र बाँच्न सक्छन् । हिमालको चुचुरोदेखि समुद्रको गहिराइसम्म, ध्रुवीय बरफका टुप्पादेखि उष्ण वर्षावान र मरुभूमिसम्म जीवहरु र जैविक विविधता पाइन्छन् ।
जैविक विविधता र यिनीहरुको अन्तरक्रियाले वातावरण र प्रकृतिको संरक्षण तथा संवर्धन गर्न प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । हाम्रो पृथ्वीको आवश्यकताहरु र सेवाहरु जैविक स्रोतहरुमा निर्भर रहेका हुन्छन् । जैविक स्रोतहरुले पोषण, कपडा, वासस्थान, इन्धन र जडिबुटी दिनुका साथसाथै हाम्रा अन्य आवश्यकताहरुलाई परिपुर्ति पनि गर्दछन् ।

जैविक विविधताले पारिस्थितिक प्रणाली सन्तुलन गर्ने, प्राकृतिक स्रोत र साधनको संरक्षण गर्ने र प्राकृतिक प्रकोप रोकथाम गर्ने आदि जस्ता कार्यहरु गर्दछ । यसका साथै जैविक विविधताबाट इन्धन, काठ, घाँस, छाला, फलफूल, खाद्यान्न र जडीबुटीजस्ता थुप्रै वस्तुहरु प्राप्त गर्न सकिन्छ । बढदो सहरीकरण, औद्योगिकिकरण, प्रदूषण, जनसंख्या वृद्धि, वासस्थान विनाश, जनचेतनाको कमी, चोरीशिकारी र मिचाहा प्रजाति आदि कारणहरुले गर्दा जैविक विविधताको लोप हुने दर बढेको छ । यसले वातावरणमा नराम्रो असर पु¥याउनुका साथै सम्पूर्ण जीवहरुलाई बाँच्न मुस्किल हुन्छ । जैविक विविधता संरक्षण र सम्वद्र्धन गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरु निर्माण गरिएका छन् । यी संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरी प्राकृतिक स्रोतहरुको सरक्षण गर्न र जीवहरुको जगेर्ना गर्न मदत पु¥याउँछन् । यस्ता केही संस्थाहरु जैविक विविधताको संरक्षणमा लागेको भए तापनि त्यो पर्याप्त छैन । यसको लागि स्थानीय स्तर, राष्ट्रिय स्तर र अन्तर्राष्ट्रिय स्तर सबै तिरबाट पहल हुनु जरुरी छ ।

अहिले विभिन्न क्षेत्रहरुमा विभिन्न तरिकाले जस्तै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, प्रजनन केन्द्र, मध्यवर्ती क्षेत्र, चिडियाखाना, वनस्पति उद्यान, एक्वेरियम, वंशाणु संकलन केन्द्र, बिज संकलन केन्द्र आदि स्थापना गरेर जैविक विविधता संरक्षणका कार्यहरु भइरहेका छन् । उपर्युक्त व्याख्याबाट पनि यो कुरा प्रष्ट हुन्छ कि हामी मानिस सम्पूर्ण आधारभूत आवश्यकता पूर्तिका लागि जैविक विविधतामा आश्रित छौँ । यदि यसमा क्षति पुग्यो भने हाम्रो जीवनमा क्षति पुग्यो भन्ने बुझे हुन्छ । साथै जैविक विविधतामा समस्या आयो भने मानव स्वास्थ्य सोझै जोखिममा पर्छ । अहिले आएको महामारी कोभिड १९ मात्र होइन विगतका ठूला महामारी र अहिले विश्वले सामना गरिरहेका विभिन्न रोग विरामहरु वास्तवमा जैविक विविधतामा भएको विनाश र असन्तुलनले हो । जीवजन्तुहरुको नासिने क्रम रोकिएको छैन बरु तिव्र गतिमा बढेको छ । त्यसैले हामी थप जोखिम मोल्न तयार हुनुपर्ने भविष्यवाणी गर्न कठिन छैन ।
(लेखक एमएस्सी प्राणी विज्ञानका विद्यार्थी हुन्)

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

Pujan Neupane
June 5, 2020 10:00 AM

This article is very clear and understandabke..

Ram chandra
June 6, 2020 3:49 PM

Thank you pujan ji

Pujan Neupane
June 5, 2020 10:01 AM

This article is very clear and understandable..

प्रतिक्रियाहरू बन्द छन्।