अब गाई–भैँसीलाई पनि सुत्केरी भत्ता !

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ ।

शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन थालेको छ । ‘किसानले दूध उत्पादनमा मात्र ध्यान नदिएर बाच्छीको स्याहारमा पनि ध्यान दिऊन् भनेर भत्ता उपलब्ध गराउन थालेका हौं’ उहाँले भन्नुभयो, ‘किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गर्ने नीति लिएका छौं ।’ सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ ।

सुत्केरी भत्ता पाउन किसानले गाई र बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ । भत्ता निजी अस्पतालमा कृत्रिम गर्भाधान गरेको भए पनि पाउने व्यवस्था गरिएको छ ।

सेवा लिनका लागि कृत्रिम गर्भाधान गरेको प्रमाणचाहि पेश गर्नुपर्छ । टीकापुर–४ बाघमाराका गाईपालक किसान रत्नप्रसाद पोखरेलको गाईले यस वर्ष एक हजार सुत्केरी भत्ता पायो । उन्नत जातको बाच्छी होस् भनी कृत्रिम गर्भाधान गरेकाले गाई सुत्केरी हुनेबित्तिकै एक हजार पाएको उहाँको भनाइ छ ।

कृषि शाखाले यसबाहेक पशुपालक किसानलाई अवलोकन भ्रमण, घाँसको बीउमा अनुदान, प्राविधिक सहयोग, पशु स्वास्थ्य शिविरजस्ता कार्य गर्ने गरेको छ । शाखाले यस वर्ष डालेघाँस, बहुवर्षीय घाँस, पौष्टिक आहारा वितरण कार्य गर्दैछ । शाखा प्रमुख पाण्डेका अनुसार लकडाउनमा वितरणमा समस्या भएकोले विकल्पको खोजी भइरहेको छ । (रासस)

शुक्रबार, ०९ जेठ, २०७७, साँझको ०६:२२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर