लोड हुँदैछ...

मेनु

अनेरास्ववियूका चुनौति र अवसर

अनेरास्ववियूका चुनौति र अवसर

अनेरास्ववियू नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी भातृ संगठन हो । भर्खरै जेठ १ गते यसले स्थापनाको ५५ औ वसन्त पार गरेको छ । ५५औं वसन्त पार गर्दा यसले विभिन्न अवस्था, व्यवस्था पार गरेर सडकमा धेरै आन्दोलनको नेतृत्व गरिसकेको छ। म यो लेखोटमा यसको ईतिहास लेखन गईरहेको छैन । यस लेखोटमा केवल यस संगठनको मोरङको हालको नेतृत्वलाई सुम्पेको दायित्वको सम्भावना र चुनौती केलाउन जमर्को गरेको छु ।

पार्टीको एकता प्रक्रियाबाट अनेरास्ववियू मोरङले पनि नयाँ नेतृत्व पाएको छ । दुवै पूर्व संगठनका जिल्ला अध्यक्ष एकीकरण प्रक्रियाबाट केन्द्रीय सदस्य भएपछि यसको नेतृत्व साविक अनेरास्ववियुका तर्फबाट भईरहेको छ । केन्द्रीय कमिटीले जिल्लाको संयोजक र सह–संयोजक टुंगोमा पुर्याएको ४ महिना वित्दा पनि जिल्ला कमिटीले पूर्णता पाउन सकेको छैन । अनेरास्ववियूको विधानमा शुरूमा ९९ सदस्यीय जिल्ला कमिटी बनाउने प्रावधान रहदा करिब टुंगिएको नाम फेरि वढिमा ६३ सदस्यीय कमिटी मात्रै बनाउने गरि विधान संशोधित भएसँगै जिल्ला कमिटी टुंगोमा पुर्‍याउन सकस परेको छ । साविक अनेरास्ववियु र क्रान्तिकारीबीच संख्या भागवन्डा टुंगिएको भएपनि नाम टुंगोमा पुर्‍याउन सकेको छैन ।

बिशेषतः केही नेतृत्वमा रहेका नेताले नै नामका विषयमा धेरै चासो र दबाब दिएका कारण जिल्ला कमिटीको नाम टुंगोमा पुर्‍याउन सकिएको छैन । केही नेतालाई संगठन निर्माण र चलायमान बनाउनेभन्दा पनि आफूले भनेका मान्ने र आवश्यकता अनुरूप सञ्चालन गर्न,सकिने व्यक्तिलाई पदमा पुर्‍याउने ईच्छाका कारण संगठन अनिर्णयको बन्दी बनेको छ । अपेक्षा छ, यो कोरना कहर सहज हुन साथ संगठनले पूर्णता पाउने छ ।

नेतृत्वको सम्भावना
एकता प्रक्रियासँगै बनेको मोरङ जिल्लाका संयोजक, सह–संयोजक र बन्ने कमिटीलाई ईतिहास र विद्यार्थी राजनीतिमा प्रमाणित गर्ने ठुलो अवसर मिल्नेछ । एकीकरणपछि भुमिकाविहिन धेरै कार्यकर्ताले भुमिका पाउँदा एउटा नयाँ आशाका किरण संगठनमा देख्न सकिनेछ र नयाँ नेतृत्व आउने ठुलो सम्भावना यसले बोकेको छ । संगठनको घोषणासँगै जिल्लामा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको प्राविधिक धारतर्फ उठाएको गौरकानूनी शुल्कको विरोध र त्यसमा चालिएको कदममा आमजनमानस, नेतृत्व लगायतक‍ो क्षेत्र आएको सकारात्मक प्रतिक्रियाले संगठनले आगामी दिनमा राज्यले संविधानमा किटान गरेको निःशुल्क शिक्षाको आन्दोलनको नेतृत्व गर्ने सम्भावना छ ।

आज देशभर प्रत्येक जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्यापन गराईन्छ । नेपाल सरकारले सामुदायिक विद्यालयमा मात्र सञ्चालन गरिएको सो कार्यक्रम विशेषगरि मध्यम तथा निम्न आय भएको परिवारको विद्यार्थीलाई छोटो र निःशुल्क शिक्षामार्फत र‍ोजगारी र अर्धदक्ष कामदार उत्पादनको उद्वेश्यले सञ्चालन गरेको हो । तर, सामुदायिक विद्यालयले यस्तो कार्यक्रममा समेत महंगो शुल्क असुली गर्दा लक्षित विद्यार्थीले यो अवसर गुमाएका छन् । १३ वटा विद्यालयमा अध्ययनरत करिव २ हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने अवस्था बनाउँदा संगठनको साख, आकर्षण मात्र बढ्ने होइन, फेरि मोरङले देशभरी नै एउटा शैक्षिक आन्दोलनमा नयाँ आयम थप्नेछ ।

मोरङमा रहेका कलेज विशेषतः त्रिभुवन विश्वविद्यालयका आंगिक कलेजमा गुणस्तर वृद्धिका लागि पहल गर्ने र त्यसलाई अभिवृद्धि गर्नसक्ने अवसर अहिले यस संगठनलाई छ । जसले नेतृत्वलाई विद्यार्थीमाझ स्थापित गर्नेछ । संगठनलाई आंगिक कलेजमा चलाएको विविए, द्यक।ऋकक्ष्त,ःएब्,द्यएब् जस्तो कार्यक्रममा लिईएको शुल्क वैज्ञानिक र प्रतिस्पर्धात्मक बनाएर शैक्षिक गुणस्तरसहित निम्न तथा मध्यम आयका परिवारका विद्यार्थीमा समेत यस्तो कार्यक्रममा भर्ना पहुँच पुर्‍याउने गरि आफ्नो आन्दोलन अघि बढाएर आफ्नो गरिमा थप उच्च बनाउनु छ ।

प्रदेश १ को राजधानी रहेको जिल्ला र आफ्नो माउपार्टीको सरकारमा नेतृत्व रहेकोले अनेरास्ववियूले विद्यालयमा प्रविधिको पहुँच, गुणस्तरमा वृद्धि, प्राविधिक शिक्षामा थप विकास, सामुदायिक विद्यालयमा विद्यार्थीको सहज पहुँच निमार्ण गर्न मद्दत पुग्ने देखिन्छ ।

नेतृत्वको चुनौती
अब अनेरास्ववियूको मुख्य चुनौती भनेको नै संगठनलाई एकढिक्का बनाएर सञ्चालन गर्नु हुनेछ । पहिले दुई भिन्न प्रशिक्षणबाट आएको कार्यकर्ता तथा नेतालाई एउटै साझा धारणा बनाउने टेवलमा राखेर नेतृत्व गर्न केही चुनौतीपूर्ण छ । हाल सामाजिक सञ्जालमा पार्टी तथा संगठनका जिम्मेवार व्यत्तिका अभिव्यक्तिले पनि यसलाई थप मलजल गर्ने देखिन्छ । फरक दुई संगठन र पूर्व आफ्नो संगठनबाट पनि नेताहरूले विभिन्न स्वार्थ राखेर कमिटीमा नाम अटाउने प्रयासले संगठनलाई एकढिक्का बनाउन निकै सकस नेतृत्वलाई हुने देखिन्छ । पूर्व दुवै संगठनमा देखिएको गुटबन्दी र त्यसको प्रभाव तल्लो कमिटीसम्म रहेको कारणले र मोरङमा केन्द्रीय कमिटीका समान हैसियतका नेताको उपस्थिति, संगठनका केन्द्रीय नेतृत्वको प्रत्यक्ष रूपमा रहेको नजिकको सम्बन्ध आदि कारणले पनि संगठनलाई एक ढिक्का बनाउन फलामे ढुंगा हुनेछ । संगठनका जिम्मेवार नेताहरूको गैरजिम्मेवार गतिविधिले संगठनमा एकता र सहकार्य कम हुने निश्चित प्राय छ ।

विगत लामो समयदेखि एकीकरण प्रक्रियाका कारण करिव रिक्त रहेको गतिविधि पुनःस्थापन गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउन पनि सकसपूर्ण रहेको छ। मोरङमा रहेका ८ स्ववियु निर्वाचन भएको क्याम्पस, ४ स्ववियु हुनुपर्ने तर हालसम्म नभएको क्याम्पस, निजी तथा सामुदायिक माध्यमिक विद्यालय, पुर्वाञ्चल विश्वविद्यालय केन्द्रीय र आंगिक क्याम्पस, २ वटा मेडिकल कलेज, अन्य विश्वविद्यालयका कलेजमा संगठन निर्माण त्यी कमिटीहरू चलायमान बनाएर नेतृत्व गर्नुपर्ने आवश्यकता र जिम्मेवारी अहिलेको नेतृत्वमा छ ।

जिल्लामा रहेका निजी विद्यालयका गैरकानुनी शुल्क निर्धारण र संकलन, मेडिकल कलेजको गैरकानुनी असुली नियन्त्रण, पुर्वाञ्चल विश्वविद्यालयको सहि सञ्चालन, सामुदायिक कलेजको महंगो शुल्क, सामुदायिक विद्यालयले उठाएको गैरकानुनी शुल्कको अन्त्य अहिलेको मोरङ जिल्लाको नेतृत्वलाई चुनौती हुन् ।

जिल्लामा रहेका बालबालिकालाई विद्यालयसम्मको पहुँच, वर्गीय रूपमा विपन्न परिवारको बालबालिकालाई गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, आगिंक तथा सामुदायिक कलेजको गुणस्तरमा सुधार, विशेष स्नातकोत्तर र महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी भर्नादर र गुणस्तरमा वृद्धि गर्न अहिलेको नेतृत्व सफल रहनुपर्छ । यसका अलवा संगठनभित्रका अन्य गतिविधि सञ्चालन र प्रशिक्षणका माध्यमबाट नयाँ नेतृत्वको उत्पादन समेत गर्नु पर्ने चुनौती छ । स्ववियु निर्वाचन पटक–पटक धकेलिदा अनिश्चित बनेसकै विद्यार्थी राजनीतिमा घटेको आकर्षणसमेत बढाएर पुनः एक पटक यसलाई गुल्जार गर्न आवश्यक छ ।

निश्कर्ष
अन्तिममा यो नेतृत्वलाई एकताको साथ अघि बढि समग्र विद्यार्थी आन्दोलनको मोरङमा नेतृत्व गर्ने एउटा सुवर्ण अवसर रहेको छ । यसअघिका नेतृत्वले विद्यार्थी आन्दोलनमा गरेको योगदान र सिर्जित संगठनको साख जोगाउन र कायम राख्न अहिलेको नेतृत्वलाई आवश्यक छ।
(लेखक अनेरस्ववियू जिल्ला कमिटि मोरङका संयोजक हुन्)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।