विराटनगर । आइतबार साँझ संघीय सरकारको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
बैठकमा लकडाउनको समयावधि थप गर्ने विषयमा नयाँ निर्णय लिइने बताइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव दिन गठित उच्चस्तरीय सुझाव समितिले दिएको सुझाव अनुसार सरकारले दुई साता लकडाउन अवधि थप गर्नसक्ने अनुमान गरिएको छ । साथै कोरोना संक्रमण नदेखिएका केही पहाडी र हिमाली जिल्लामा आन्तरिक गतिविधि सुचारु गर्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुनसक्ने बताइएको छ ।
नेपाल सरकारले आज साँझ सातौं पटक लकडाउन थप गर्ने तयारी गरेको हो । सरकारले ०७६ साल चैत ११ गते पहिलो पटक लकडाउन घोषणा गरेको थियो जुन पटक पटक थप गर्दै अहिलेसम्म जारी छ ।
पछिल्लो समय प्रदेश २, प्रदेश ५, प्रदेश १, प्रदेश ३ मा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । आइतबार बिहानसम्म २९१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने प्रदेश ३ मा एक जना २९ वर्षे सुत्केरीको मृत्युसमेत भएकोले सरकार लकडाउन अवधि थप गर्ने निष्कर्शमा पुगेको हो ।