काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु भएको छ ।
शुक्रबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
राष्ट्रियसभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुनेछ । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको लागि सांसदहरुको स्वाब संकलन भइरहेको छ ।
सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइनेछ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो ।
दुवै संसदको बैठक भोलि दिउँसो ४ बजे बस्ने तय भएको छ ।